तपाईँ सुन्दै हुनुहुन्छः

एक बर्ष देखी गिट्टी कुटेको पैसा नपाएको गुनासो

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर १ घर भएकी अवगती सिंह उमेरले ५५ बर्ष पुगिन उनको श्रीमानको २०७६ साल ज्येष्ठ महिनामा मृत्यु भयो । घरमा एक छोरी र आफु मात्र बस्ने गरेकी अवगतीको घरमा पैसा आउने सबै बाटो बन्द भएपछि श्रीमान् बितेको ३ महिनामै शरीरमा सेतो कपडा लगाएर एक छाक खाएर भएपनी गिट्टी कुटिन तर गिट्टी कुटेकै पैसा एक बर्ष भन्दा बढी समय बिते पनि गिट्टीको पैसा नपाएपछि भोकै दुई घण्टा पैदल हिँडेर ठेकेदारलाइ पैसा माग्न चैनपुर पुगेको गुनासो सुनाउँछिन् ।
उनले भनिन् “गाउँमै आएर दिन्छु भन्थे तर सदरमुकाम आएर पनि ठेकदारले फोन उठाउनै छोडेका छन् । दुःख गरेर फुटाएका गिट्टीको पैसा कहिले होला पाउने ? २०७६ सालमा जयपृथ्वी नगरपालिका वडा नम्बर १ को वडा कार्यालय कैलाशमा लाग्ने भनेपछि एक घण्टा टाढाबाट ढुङ्गा बोकेर गिट्टी फुटायौ । के गर्नु खाऊँ भन्या गडा (खेत) मा तुल (अन्न) छैन । पानी आइएन गहुँ निको भयाइन । सबै गडा (खेत) गरी एक सुप्पो जौ भयाइन ।”
कलसरा देवी सिंहले पनि उस्तै पिडा पोखिन “वडा कार्यालय बनाउन्या ठाउँ कति पुग्यौ कति कहिल्यै भेटाएनौ । आज ठेकेदारलाइ पैसा माग्न घरमा ताल्चा लगाएर आएका छौ । ” त्यसैमा वेला देवी सिंहले पनि निराश हुँदै भनिन् “एक वर्षको छोरा पिटिउमा बोकेर पुस महिनामा चिसोमा सिलि ढुङ्गा फुटाउँदाको झाल हातमा ठाडो लागेर रोइ नसक्नु हुन्थे । हात फदा फुदै छोराछोरीलाई नयाँ कपडा, स्कुलको पैसा तिर्न त होला भनेर कुट्यौ । लोग्ने घरमा छैनन् । छोराछोरी पढेको पैसा तिर्नलाई छैन । पेट क्याले पाल्ने हो । पैसा पाया बजारबाट दाल, चामल किनी घर जान्थ्यौ । दाल, चामल, नुन, तेल पनि अरूबाट जोहो गर्नु परेको छ ।”
उनी लगायत ८ जना मजदुर महिलाहरूले आफूहरूको गिट्टीको पैसा छिटो छरितो दिलाउन समेत निवेदन दिएका छन् । काम गरे बापत सबै गरी करिब २ लाख ७० हजार रुपैयाँ पाउनुपर्ने बताएका छन् ।
आजै जयपृथ्वी नगरपालिका उपमेयर तथा न्यायिक समिति संयोजक जुना जाग्री र इन्सेक प्रतिनिधिसँग समेत महिलाहरूले मौखिक उजुरी उजुरी समेत गरेकी छन् । जाग्रीले न्यायिक समितिमा आएपछि गिट्टीको पाउनु पर्ने पैसा सोधपुछ गरेर निसाफ गर्ने बताउनु भयो ।
यता जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गगन बहादुर सिंहले निर्माण कम्पनीले गिट्टीको पैसा दिन के कति कारणले ढिलाइ गरेको हो । छिटो दिलाउनका लागि पहल गर्ने र मजदुर महिलाहरू आएर आफूलाई गुनासो समेत गरेको बताउनुभयो । यता ठेकेदार नवराज जाग्रीले भने, आफूले गाउँकै स्थानीय बाट गिट्टी लिएको र त्यसै स्थानीयलाई गिट्टीको २ लाख ५० हजार रकम भुक्तानी गरी सकेको र अहिले महिलाहरूले ठेकेदारबाटै पैसा लग्छु भनेर भन्ने गरेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button