तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा बालकको मृत्यु

भद्रपुर, झापा । आज बिहान पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा झापामा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ५ बस्ने ८ वर्षीय योजल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार हावाहुरी चलेका बेला बुबासँग घर नजिकैको माई वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएका योजललाई वनमै रहेको मसलाको रुखको हाँगा भाँचिएर लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमक अस्पताल पुर्‍याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरीले जिल्लाका विभिन्न स्थानमा रुख ढाल्नुका साथै घर तथा पसलका छानाहरू पनि उडाएको छ । अन्नबालीमा समेत क्षति पुर्‍याएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button