तपाईँ सुन्दै हुनुहुन्छः

मध्यरातसम्म पहल गर्दा पनि लिङ्गो उठेन : क्षमा पूजा गरी बिहान उठाइँदै

भक्तपुर । नववर्षको आगमनसँगै सुरु भएको भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्केट जात्राको चौथो दिन अर्थात् हरेक वर्षको अन्तिम दिन भेलुखेलमा ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ ।
तर मध्यरातसम्म हजारौँ जात्रालुले पहल गर्दा पनि यसपटक लिङ्गो उठाउन सकिएको छैन ।
हिजो दिउँसो ४ बजेदेखि नै लिङ्गो उठाउने तयारी भएपनि अहिलेसम्म पनि  लिङ्गो उठाउन सकिएन । केही माथि सम्म उठाइएको  लिङ्गो फेरि जमिनमा ढलेको छ।
अब आज बिहान क्षमा पूजा गरी लिङ्गो उठाउने तैयारी भइरहेको गुठी संस्थान शाखा कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले बताउनुभयो ।
लिङ्गो नउठ्नुलाई अशुभ मानिन्छ । लिङ्गो उठाउने क्रममा केही व्यक्ति घाइते समेत भएको स्थानीय जानकारी दिएका छन् ।
बिस्का जात्रा अन्तर्गत हरेक वर्षको अन्तिम दिन भेलुखेलमा हात भएको यःसिं ठड्याउने गरिन्छ।
तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो उठाउने गरिन्छ ।
हजारौँ जात्रालुको सहभागितामा लिङ्गो उभ्याउन सुरु गरिन्छ । नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् ।
लिङ्गो उठाएपछि स्थानीयवासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन् ।
यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ ।पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गो उठाउनुअघि  दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याउने चलन छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा : जात्रा मनाइन्छ ।
लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ ५५ हाते लामो लिङ्गो ढालिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button