झापामा वैदेशिक रोजगार विभागको अनुगमनमा कडाइ, केही म्यानपावरमा सिल

झापा । वैदेशिक रोजगार विभागको टोलीले झापामा सञ्चालित म्यानपावरको अनुगमनलाई तीव्र बनाएको छ ।
अनुगमनका क्रममा केही म्यानपावरमा सिल गरिएको छ भने केहीको सिल खोल्दै थप अनुसन्धान अघि बढाइएको छ ।
बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको एक म्यानपावरमा सिल गरिएको छ भने मेमोसा ओभरसिजमा लगाइएको सिल विभागको टोलीले खोलेको छ ।
शाखा अधिकृत मातृका सापकोटासहितको टोलीले आज बिर्तामोडका म्यानपावरको अनुगमन गर्दै नियम विपरीत सञ्चालनमा रहेको म्यानपावरमा तालाबन्दी गरेको हो ।
विभागको टोलीले अनुगमन सुरु गरे लगत्तै अधिकांश म्यानपावरका कार्यालय बन्द भएका थिए । एउटा म्यानपावर सिल गरे लगत्तै अधिकांशले शाखा कार्यालयमा बन्द गरेर भागेका थिए ।
झापामा वैदेशिक रोजगार विभागको अभिलेख अनुसार द रिभर ओभरसिज, जुनियर ओभरसिज, फजल इन्टरनेशनल प्रालि, युमर ओभरसिज, पुकार इन्टरनेशनल ओभरसिजको शाखा कार्यालय रहेको छ ।
त्यस्तै शिवाकोटी म्यानपावर, शान इन्टरनेशनल ग्रुप प्रालि, मेमोसा, जानकी ओभरसिज प्रालि, अञ्जलि ओभरसिज प्रालि, ट्रष्ट नेपाल ओभरसिज प्रालिका शाखा कार्यालय सञ्चालनमा छन् ।
यी सबै म्यानपावर बिर्तामोड केन्द्रित छन् भने राज ओभरसिज प्रालि दमक–१० मा सञ्चालित छ ।
त्यस्तै बिर्तामोडमा जब प्लेसमेन्ट सर्भिस प्रालि र डी प्रोर्टन म्यानपावर प्रालिको शाखा बिर्तामोडमा रहेको विभागको वेबसाइटमा उल्लेख छ ।
अधिकांश म्यानपावर दर्ता बिना नै सञ्चालनमा रहेकाले विभागको टोलीले छापामारेसँगै भाग दौड चलेको थियो ।








प्रतिक्रिया राख्नुहोस्