तपाईँ सुन्दै हुनुहुन्छः

बिमाको रकम पाउने लोभमा श्रीमतीको हत्या 

भैरहवा । रुपन्देहीमा बिमाको रकम पाउने लोभमा एक महिलाको हत्या गरिएको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ कि कुसुम लोधको हत्याको आरोपमा प्रहरीले उनको श्रीमान् शैलेस कुमार लोध र देवर राजेश कुमार लोधलाई पक्राउ गरेको छ । घरायसी झैँ–झगडा र श्रीमतीको बीमा सम्बन्धी विषयका कारण कुसुमको हत्या उनकै पति शैलेश र देवर राजेशले हत्या गरेको खुलेको छ ।

गत फागुन १५ गते इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको गस्ती टोलीले कोटहीमाई गाउँपालिका–१ पतिजिया सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने कच्ची सडक खण्डमा महिलालाई शक्त घाइते र बोल्न नसक्ने अवस्था फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले बताउनुभयो ।

एसपी पोखरेलका अनुसार सोही स्थानमै कुसुमको पति शैलेश, उनको मोटरसाइकल र २ वर्षीय छोरासँगै रहेका थिए । लु २ च १५१७ नम्बरको पिकअप गाडीमा ४ जना सवार रहेको र गाडीले पटक पटक ब्याक समेत गरी ठक्कर दिएर मङ्गलसूत्र खोसेर लगेको र उनलाई पेस्तोल ताकेको कुरा शैलेसले प्रहरीलाई बताएका थिए ।

शैलेसका अनुसार लु ७० प ५५९० नम्बरको मोटरसाइकलमा २ जना व्यक्ति रहेका थिए ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका शैलेसले फागुन १६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा जाहेरी दरखास्त दिएको र उक्त जाहेरीमा हतियार देखाइ लुटपाट गरी हत्या गरेको ब्यहोरा उल्लेख गरेको एसपी पोखरेलले जानकारी दिनुभयो ।

‘अनुसन्धानको प्रारम्भिक चरणमा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको थियौँ, चालकसँग सोधपुछ तथा सवारीसाधनको परीक्षण समेत गरिएको थियो, तर सवारीसाधन र चालक उल्लेखित घटनास्थलमा पुगेको पुस्ट्याइँ भएन, ’प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो ।

अनुसन्धानको दोस्रो चरण अन्तर्गत शैलेस र उनको घरपरिवारप्रति नियमित निगरानी, शैलेसको शङ्कास्पद व्यवहार, प्राविधिक विश्लेषण र जैविक परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

कुसुमको दुई ठाउँमा बिमा गरेको र बैङ्कमा रहेको ऋण पनि तिर्नुपर्दैन भन्ने अभिप्रायले हत्या गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ । हत्याको घटनामा पक्राउ परेका दुवै जनाले घटना स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button