तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय रूपान्तरणकारी योजना कार्यान्वयन शुरु

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरे बमोजिम राष्ट्रिय रूपान्तरणकारी योजना कार्यान्वयन शुरु गरेको छ ।

मुलुकको अर्थतन्त्रलाई नै रूपान्तरण गर्ने खालका २७ वटा आयोजनालाई सरकारले राष्ट्रिय रूपान्तरणकारी आयोजनाको रुपमा कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो ।

राष्ट्रिय योजना आयोगले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ०.५ प्रतिशत योगदान दिने, आयोजना निर्माणको क्रममा २० हजारलाई रोजगारी दिने र सम्पन्न भइसकेपछि ४० हजारलाई रोजगारी दिने, आयोजना प्रारम्भ भएपछि १० लाख जनता लाभान्वित हुने र सम्पन्न भइसकेपछि २० लाख लाभान्वित हुने आयोजनाहरूलाई राष्ट्रिय रूपान्तरणकारी आयोजनाको रुपमा अघि बढाएको हो ।

चालु १५ औं पञ्चवर्षीय योजनाले अघि सारेको विकासको अवधारण अनुसार राष्ट्रिय योजना आयोगले राष्ट्रिय रूपान्तरणकारी आयोजनाको कार्यान्वयन अघि बढाएको हो ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय रूपान्तरणकारी आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा पहिलो पटक हालै सरोकार भएका निकायसँग छलफल सम्पन्न गरेको छ । रूपान्तरणकारी आयोजना अन्तर्गत कतिपय हाल सञ्चालनमा रहेका आयोजनाहरू रहेका छन् भने कतिपय नयाँ रहेका छन् ।

छलफलमा रूपान्तरणकारी आयोजनाको समग्र अवस्था, समस्या र चुनौतीका बारेमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सम्वृद्धिका लागि वन आयोजना, जग्गा प्रशासनसँग सम्बन्धित आयोजना, राष्ट्रिय परिचयपत्र वितरण आयोजना, सुनकोशी मरिन डाइभर्शन आयोजना र औद्योगिक पूर्वाधार विकास आयोजना लगायतका ठूला र रूपान्तरणकारी विकासका आयोजनाहरूलाई रूपान्तरणकारी आयोजनाको रुपमा अघि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button