स्याङ्जामा एकै दिन दुई सहायक सडक कालोपत्रे शुभारम्भ

स्याङ्जा । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले आइतबार स्याङ्जामा दुई सहायक सडकको कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ ।
मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र गल्याङ, पेलाकोट, पिडिखोला, सेतिबेणि सडकको कालोपत्रे गर्ने कार्य शुभारम्भ गर्नुभएको हो ।
जिल्लामा सिद्धार्थ राजमार्गसँग जोडिएको सहायक भित्री सडकहरूको कालोपत्रे गर्ने अभियान अन्तर्गत यहाँका आधा दर्जन सडक कालोपत्रे भइसकेको मन्त्री अर्यालले बताउनुभयो ।
उहाँले कालोपत्रे शुभारम्भ गर्नुहुँदै विगत ३० वर्षमा हुन नसकेको काम वर्तमान सरकारले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले ऐतिहासिक काम गरेको छ । विगत ३० वर्षमा नभएका काम यो सरकारले ३ वर्षमा गरेको छ । इतिहासमा नभएका कामहरू अहिले भएका छन् ।’
वालिङ भुम्रे हुँदै अर्चलबोट, डुम्रेभञ्याङ, बानीडाँडा हुँदै लुम्बिनी प्रदेशको गुल्मी गुल्मी सडक खण्ड कालोपत्रे गर्ने योजना वहुवर्षीय हो ।
४० करोडको बहुबर्षीय योजना अन्तर्गत पहिलो चरणमा दर्शन कन्ट्रक्सन वालिङले सडक चौडा, पर्खाल नाला र प्रिमिक्स कालोपत्रे गर्न बेस बनाउन १ करोड ५० लाख ९३ हजार ८८७ रुपियाँ ८५ पैसामा ठेक्का लिएको छ । भुम्रे हुँदै गुल्मी सडक खण्डको लागि पहिलो चरणमा १० किलोमिटर कालोपत्रेको लागि टेण्डर आव्हान गर्ने तयारीमा रहेको सडक डिभिजन कार्यालय कास्कीका प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो ।
गल्याङ, पेलाकोट सेतिबेणि जोडने सडक खण्डको कस्यप निर्माण सेवाले ६ किमी कालोपत्रे गर्ने गरी पहिलो चरणमा तीन करोड ४३ लाख १२ हजार ४३० रुपैयाँमा सम्झौता भएको छ ।
निर्माण सेवाले सडक चौडा, टेवा पर्खाल निर्माण, सब बेस, बेसका साथै डेढ किलोमिटर प्रिमिक्स कालोपत्रे गर्ने गरी सम्झौता गरेको सडक डिभिजन प्रमुख पन्तले बताउनुभयो । उक्त सडक खण्डको लागि १५ करोड बराबरको श्रोत सुनिश्चितता भएको समेत पन्तले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्