१ सय ११ जना कोरोना सङ्क्रमणमुक्त, ८१ जनामा सङ्क्रमित थपिए

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय ११ जना निको भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ ।
हालसम्म कुल सङ्क्रमित मध्ये ९८ दशमलव ६ प्रतिशत सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ३ हजार २३ वटा नमुनाको परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप ५ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २ हजार ५२ पुगेको छ ।
१ हजार ७ सय १८ सक्रिय सङ्क्रमित मध्ये ६४ जनाको आइसियु र १३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, दोस्रो चरणको कोरोना विरुद्धको खोप सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैङ्कका कर्मचारीहरू, पत्रकारहरू, स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा खटिएका सुरक्षाकर्मी, पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवीका, एम्बुलेन्स तथा शव वाहन चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ ।
देशभर फागुन २ देखि ८ गते सम्म सञ्चालन हुने खोप अभियानमा प्राथमिकतामा परेका व्यक्तिहरूले जिल्लास्थित स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्