तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज नाकाबाट ६ महिनामा ११ अर्ब ५५ करोडको भटमासको तेल भारत निर्यात

बीरगंज । मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सारबाट चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महिनामा भारततर्फ ३ सय २ प्रतिशतले भटमासको तेलको निर्यातमा वृद्धि भएको छ ।

वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म बीरगंज नाकाबाट ११ अर्ब ५५ करोड ८१ लाख ३३ हजार मूल्य बराबरको ७ करोड ८३ लाख ४१ हजार ७ सय २९ किलो ग्राम भटमासको तेल वीरगंज नाकाबाट भारततर्फ निर्यात भएको छ ।

भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले पाम आयलको साट्टो भटमासको तेल उत्पादन गरी भारततर्फ निर्यात गर्दै आएका छन् ।

गत आर्थिक बर्ष २०७६/२०७७ को ६ महिनामा वीरगंज नाकाबाट २ अर्ब ७८ करोड ३५ लाख ८१ हजार मूल्य बराबरको २ करोड २३ लाख ४७ हजार ९ सय २ किलो ग्राम भटमासको तेल निर्यात भएकोमा अहिले भटमासको तेल निर्यातमा ३ सय २ प्रतिशतले वृद्धि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिनुभयो ।

बीरगंजका १४ वटा तेल उद्योगहरू भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि अहिले भटमासको तेल उत्पादन गरी निर्यात गर्दै आएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button