भक्तपुरमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै वर्चस्व
भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भक्तपुरमा ओली पक्षकै वर्चस्व देखिएको छ ।
जिल्लामा साबिक नेकपाका ३ केन्द्रीय सदस्य छन् । जसमध्ये केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले ओली समूहको नेतृत्व गर्नुभएको छ भने प्रचण्ड –नेपाल समूहको नेतृत्व अर्का केन्द्रीय सदस्य दिलीप प्रजापतिले गर्नुभएको छ ।
अर्का केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र भने खुल्नु भएको छैन । साबिक एमाले छँदा माधव नेपाल पक्षीय नेता मिश्र अहिले मौन हुनहुन्छ ।
भक्तपुरमा नेकपाका तर्फबाट चार प्रदेश सांसद रहेका छन् । जसमा दुई वटै समूहमा आधाआधा बाँडिएका छन् । प्रदेश सांसद रहेका शशिजंग थापा र सरस्वती बाटीलाई ओली पक्षले केन्द्रीय सदस्यमा समेत मनोनीत गरिसकेको छ ।
त्यस्तै थप दुई प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ प्रचण्ड–नेपाल समूहमा खुलेका छन् ।
साबिक नेकपाले भक्तपुरको जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य दिलीप प्रजापति र सह इन्चार्जमा अर्का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई जिम्मेवारी दिइएको थियो ।
त्यस्तै साबिक एमाले र माओवादी केन्द्रबीच पार्टी समायोजन हुँदा भक्तपुरमा एक सय ४५ जनाको जिल्ला समिति गठन गरिएको थियो । जिल्ला समितिमा पूर्व एमालेका ८२ जना र पूर्वमाओवादीका ६३ जना सदस्य थिए । जुन समितिको अध्यक्षमा एमालेका बचन देउजा र सचिवमा माओवादीका देवीप्रसाद ढकाललाई छानिएको थियो ।
अहिले पार्टी विभाजित हुँदा जिल्ला अध्यक्ष देउजा ओली र सचिव ढकाल प्रचण्ड नेपाल समूहमा लाइनुभएको छ ।
त्यस्तै जिल्ला अध्यक्ष देउजाले भक्तपुरमा ओली समूह नै बहुमतमा रहेको दाबी गर्नुभयो एक सय ४५ सदस्यीय जिल्ला समितिमा आफूहरूको पक्षमा ८० जनासम्म पुग्ने उहाँको जिकिर छ ।
देउजाले भक्तपुरका ३ जना मेयर र २ जना उपमेयरमध्ये केन्द्रीय सदस्य एवं चाँगुनारायण नपाका मेयर मिश्रबाहेक सबै आफ्नो पक्षमा रहेको दाबी गर्नुभयो । जसअनुसार मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ, सूर्य विनायक नपाका मेयर वासुदेव थापा र उपमेयर जूना बस्नेत तथा चाँगुनारायण नपाकी उपमेयर वीणा बाँस्तोला ओली समूहमा रहेको अध्यक्ष देउजाको भनाइ छ ।
यस अघिका जिल्ला इन्चार्ज प्रजापतिले भने साबिक एमालेका सबै नखुले पनि प्रचण्ड–नेपाल पक्षमा बहुमत रहेको दाबी गर्नुभयो । एक सय ४५ सदस्यीय जिल्ला समितिमा आफूहरूको पक्षमा ७७ जना भएको उहाँको भनाई छ ।
जिल्ला इन्चार्ज प्रजापतिको भनाइलाई ठाडै अस्ीकार गर्दै ओली समूहका प्रदेश सांसद शशिजंग थापा र नेता निर्मल भट्टराईले भने भक्तपुरमा आफूहरू ९० प्रतिशत रहेको दाबी गर्नुभयो ।
गरिबी निवारण आयोगका उपाध्यक्षसमेत रहेका नेता भट्टराईले साबिक पूर्व एमालेका सात जना जिल्ला सदस्य मात्रै प्रचण्ड–नेपाल समूहमा खुलेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्