तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका ७ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना 

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का ७ वटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ ।

आर्थिक वर्ष २०७५।०७६ को बजेट मार्फत प्रत्येक संघीय निर्वाचन क्षेत्रका ६–६ ओटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नीति तथा योजना अन्तरगत प्रतिनिधि सभा सदस्य नर बहादुर धामीको सिफारिसमा कञ्चनपुर क्षेत्र नम्बर २ का ७ ओटा विद्यालयहरूमा प्रयोगशाला स्थापना गरिएको हो ।

कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत वेदकोट नगरपालिकाका २, शुक्लाफाँटा नगरपालिकाका ३ र कृष्णपुर नगरपालिकाका २ ओटा सामुदायिक विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले बताउनु भयो ।

ती मध्ये शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ कसरौल स्थित बैजनाथ माध्यमिक विद्यालयमा शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुभएको छ ।

उहाँका अनुसार, प्रत्येक प्रयोगशालामा २४ थान कम्प्युटर सहित प्रिन्टर, प्रोजेक्टर र सिसिटिभि क्यामेरा समेत जडान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button