उत्पीडितको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह

बर्दिवास । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजु खड्काले उत्पीडितको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नु भएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका–४, माईस्थानमा बिहीबार आयोजित प्रेस सङ्गठन नेपाल महोत्तरीको जिल्ला समिति विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
नेकपा महोत्तरीका इन्चार्ज समेत रहनु भएका खड्काले वेथितीको विषयमा खुलेर खबरदारी गरिदिन पत्रकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बर्दिवास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले पत्रकारहरूले खोज पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कलममा भएको तागतलाई सही सदुपयोग गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
यस्तै, प्रदेश २ का प्रदेशसभा सदस्य शारदा देवी थापाले पत्रकार विना समाज दृष्टि विहीन हुने बताउनुभयो । उहाँले पत्रकारको विषयमा पनि राज्यले गम्भीरता पूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस सङ्गठन नेपाल प्रदेश २ का संयोजक हिरालाल चौधरीले सङ्गठनका जिल्ला पदाधिकारीहरूलाई आवश्यक निर्देशन तथा सुझाव दिनुभएको थियो ।
प्रेस सङ्गठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोको अध्यक्षतामा बसेको विस्तारित बैठकमा नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनको तयारी थालेको छ ।
सङ्गठनका केन्द्रीय सदस्य तथा प्रदेश २ का संयोजक हिरालाल चौधरी, केन्द्रीय सदस्यहरु किरणकुमार कर्ण र सुनिता बरालसहितको उपस्थितिमा सम्पन्न बैठकले महासङ्घको आसन्न निर्वाचनमा आवश्यक तयारीका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
निर्वाचन प्रयोजनका लागि विभिन्न पक्षसँग वार्ता गर्ने, उम्मेदवारी प्यानलबारे सहमति गर्ने र आफ्ना पक्षका उम्मेदवारको नाम टुङ्गो लगाउने अधिकारसहितको कार्यदलमा जिल्ला संयोजक राजकरण महतो संयोजक र विक्रमप्रसाद रौनियार एवम् रामनारायण महतो सदस्य रहनु भएको छ ।
विस्तारित बैठकमा गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, सङ्गठनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव किरण कुमार कर्ण, केन्द्रीय सदस्य सुनिता बराल, सङ्गठनका धनुषा संयोजक शैलेन्द्र महतो, सह–संयोजक अवधेश कामतलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्