तपाईँ सुन्दै हुनुहुन्छः

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

पर्वत । बाँझो जमिन उपयोग गर्न किसानलाई प्रोत्साहन गर्ने नगरको नीति तथा कार्यक्रमलाई फलेवास नगरपालिकाले कार्यान्वयन गरेको छ । आलु वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले प्रतिफलमा आधारित अनुदान दिने घोषणा गरेको थियो ।

जमिनको उपयोगिता बढाउने र किसानलाई उत्प्रेरित गर्ने उदेश्य लिएको नगरले बाँझो जमिनमा खेती गरेका किसानलाई बिहीवार प्रोत्साहन रकम वितरण गरेको छ । लकडाउनमा घरमै बसेका किसानलाई जागरूक बनाई उत्पादन बढाउन गत जेठमा घोषणा गरिएको अभियानका सहभागीलाई रकम दिइएको हो ।

दुई वर्षभन्दा धेरै समय बाँझो रहेको जमिनमा खेती लगाएका किसानलाई वडामै पुगेर जनप्रतिनिधी र कर्मचारीले अनुदान रकम वितरण गरेका छन् । नगरपालिकाले घोषणा गरे बमोजिमको प्रतिरोपनी २ हजार रुपैयाँका दरले नगरका सबै वडामा पुगेर अनुदान दिइएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो । सानो प्रोत्साहनकै कारण यस वर्ष नगरमा खाद्यान्न आयात घट्ने विश्वासमा रहेको उहाँले बताउनुभयो ।

नगरभित्रका ९७ किसानले बाँझो जमिनमा खेती गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५२५.५ रोपनी जग्गामा विस्तार भएको खेतीबापत १० लाख ५१ हजार रुपैयाँ वितरण गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालका अनुसार ११ वडामा दुई वर्षभन्दा धेरै समय बाँझो रहेको ५२५ रोपनी जमिनमा धान तथा कोदो खेती विस्तार भएको छ । यसबाट ८५ मेट्रिक टन धान र ५ मेट्रिक टन कोदो उत्पादन भएको उहाँले बताउनुभयो । रिजालका अनुसार नगरमा यस वर्ष धान उत्पादन १२ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष ५ हजार ४ सय ३३ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ६ हजार ९६ टन पुगेको रिजालले बताए । वडा नं ३ शंकरपोखरीमा सबैभन्दा बढी २ सय ५० रोपनी बाँझो जमिनमा उत्पादन बढेको छ । वडाध्यक्ष अर्जुनबहादुर केसीले घरघरै पुगेर किसानलाई खेतीका लागि उत्साहित गरिएको बताउनुभयो ।

नगरको कृषि शाखाका अनुसार वडा १ मा ११, २ मा १३, ३ मा २५० रोपनी बाँझो जमिनमा खेती बिस्तार भएको छ । त्यस्तै वडा ४ मा ४८, ५ मा ५५, ६ मा ३, ७ मा ३६, ८ मा १७, ९ मा ११.५, १० मा ५० र ११ मा ३१ रोपनीमा खेती विस्तार भएको छ ।

बाँझिएको जमिन हराभरा बनाउन र बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न अझै उत्पादनमुखी कार्यक्रम ल्याइने नगरप्रमुख शर्माले बताउनुभएको छ । नगरपालिकाले पशु फर्म सञ्चालन गरेका किसानलाई दूध बिक्रीबापत प्रतिलिटर २ रुपैयाँका दरले अनुदान वितरण गरिसकिएको पशु प्राविधिक प्रताप पौडेलले बताउनुभयो । यो कार्यक्रमले किसानहरु उत्साहित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button