तपाईँ सुन्दै हुनुहुन्छः

दलित बस्तीमा खानेपानीको समस्या

स्याङ्जा  । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका वडा नं २ को दलित बस्तीमा खानेपानीको समस्या भएको छ ।
सरकारले एक घर एक घर धाराको अभियान अगाडि बढाए पनि त्यहाँका दलित बस्ती भक्तिकोटमा रहेका घर परिवारले खानेपानीको लागि सास्ती बेहोर्दै आएका छन् ।
भक्तिकोटमा १९ दलित घरधुरीले वषौँदेखि खानेपानीको अभाव झेल्दै आएको ४० वर्षीय कमला नेपालीले बताउनुभयो । नेपालीले भन्नुभयो, ‘२३ बर्ष पहिला विवाह गरेर यहाँ आएकी थिए । खानेपानीको समस्या अहिले पनि उस्तै छ । पानी जोहो गर्न कै लागि हरेक दिन आधा समय बिताउनुपर्छ ।’
घरदेखि तल लामिडाँडा रहेको एक धाराबाट गाउँले सबैले खानेपानीको व्यवस्था गर्नु परेको नेपालीले बताउभुयो । बिहान सबेरै उठेर पानीको लागि लाइनमा बस्नुपर्ने बताउँदै नेपालीले भन्नुभयो, ‘कहिलेकाहीँ त पानीको जोहो गर्दा नै दिन बित्छ ।’ दलित बस्तीका बालबालिकाहरू समेत पानीकै जोहो गर्दा पढाई नै छाड्नुपर्ने अवस्था रहेको छ ।
त्यहाँका विद्यार्थीहरूले बिहान विद्यालय जाँदा नै गाग्री लिएर जाने र धारामा छाड्ने विद्यालयबाट फर्कँदा पानी लिएर आउनुपरेको विद्यार्थी स्मारिका नेपालीले बताउनुभयो ।
पानीको मूल नहुँदा खानेपानीको समस्या भएको वडा अध्यक्ष क्या लालबहादुर गुरुङले बताउनुभयो ।  दुई बर्ष पहिला १५ हजार लिटरको ट्याङ्की बनाइए पनि पानीको लागि स्रोत नहुँदा बनेको ट्याङ्कीमा पानी सङ्कलन गर्न नसकिएको बताउनुभयो ।
खानेपानीको स्रोत खोजेर गाउँपालिका र प्रदेश सरकार सँग लिफ्टिङ खानेपानी आयोजनाको माग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button