नारायणी अस्पतालमा स्थानीय प्रशासनद्वारा अनुगमन
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कर्मचारीहरुको लापरवाही बढेको गुनासोपछि आज जिल्ला प्रशासन कार्यालय पर्साले छड्के चेकजाँच तथा अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको नेतृत्वमा गएको टोलीले कर्मचारीहरुको हाजिरी रजिस्टर लगायत अन्य कागजात चेकजाँच गरेको थियो ।
कर्मचारी हाजिरी रजिष्टरमा केही कर्मचारीहरुले एक दिन अगाडिको पनि हजारी गरेको तथा केही कर्मचारीले डेढ महिनासम्मको हाजरी समेत नगरेको भेटिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले जानकारी दिनुभयो ।
नारायणी अस्पतालका कर्मचारी तथा चिकित्सकको लापरवाही बढ्दै गएपछि उपचारका लागि जाने गरेका बिरामी प्रभावित भएको सुचनाको आधारमा छड्के चेकजाँच गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
छड्के निरिक्षणको क्रममा देखिएका कमी कमजोरी सुधार्न विशेष कदम चालिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सञ्जय ठाकुरले टोलीसमक्ष बताउनुभयो ।
उहाँले केही कर्मचारीहरुको असहयोगका कारण अस्पतालमा सुधार गर्न कठिनाई भएको बताउँदै बिस्तारै अस्पतालमा सुधार गरी नमुना बनाईने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्