रेडियो नेपालको गरिमा कायम राख्दै अगाडि बढ्न सञ्चार मन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाली जनताको ढुकढुकीको रुपमा रहेको रेडियो नेपालको गरिमा कायम राख्दै अगाडि बढ्न निर्देशन दिनुभएको छ ।
रेडियो नेपालमा २५ वर्ष स्थायी रुपमा सेवा प्रदान गर्नुभएका कर्मचारीहरूलाई दिर्घसेवा पदक वितरण गर्न आज रेडियो नेपाल, सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले निजी क्षेत्रका रेडियोहरू भन्दा अग्रणी स्थानमा रहेर सेवा प्रवाहमा अगाडि बढ्न निर्देशन दिनुभएको हो ।

मन्त्री गुरुङले रेडियोमा रहेका सबल र सकारात्मक पक्षको पहिचान गरी प्राविधिक र व्यवस्थापन क्षेत्रमा रहेका कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले रेडियो नेपालले विभिन्न भाषा, संस्कृति र कला संरक्षणमा पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा यसको सेवा विस्तार गरी छिटै नै ९२ प्रतिशत जनताको पहुँचमा पुग्ने प्रतिबद्धता अनुरूप परम्परागत प्रविधिमा सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आर्थिक अभावका बाबजुद पनि रेडियो नेपालले ८७ प्रतिशत जनसङ्ख्यामा आफ्नो प्रसारण पहुँच पु¥याउँदै आएको बताउनुभयो ।
पेन्सन कोष स्थापनामा देखिएको समस्या समाधानका लागि निर्देशिका तयार पारिएको र रेडियो नेपालले आधुनिक प्रविधिसँगै फड्को मार्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा २०७६ सालसम्म रेडियो नेपालमा २५ वर्ष निरन्तर सेवा प्रदान गर्नुभएका १९ जना कर्मचारीलाई स्वर्णपदकसहित सम्मान गरिएको थियो । प्रत्येक वर्ष चैत्र २० गते मनाउँदै आइएको रेडियो नेपालको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने पदक गत वर्ष कोरोनाका कारण रोकिएको थियो ।











प्रतिक्रिया राख्नुहोस्