प्रदेश नंं २ मा शितलहर शुरु, जनजीवन प्रभावित
जनकपुरधाम । आज बिहान देखि प्रदेश नंं २ को राजधानी जनकपुरधाम सहित आसपासको जिल्लाहरूमा शितलहर शुरु भएको छ ।
बिहान देखि बाक्लो कुहिरो सँगै शितलहर शुरु भएका कारणले धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी सहितका जिल्लाहरूको जनजीवन प्रभावित बनेको छ । पश्चिम दिशाबाट चलेको चिसो हावा सँगै शुरु भएको शितलहरका कारणले गरिब तथा विपन्न वर्गका व्यक्तिहरू मारमा परेका छन् ।
शितलहर सँगै कठ्याग्रीदो जाडो शुरु भएका कारणले ज्येष्ठ नागरिक, वृद्ध, अपाङ्ग, दम, रुघाखोकी तथा हाड र जोर्नीका बिरामीहरू मारमा परेका छन् । उता अत्यधिक चिसो बढेपछि शरीरलाई न्यानो बनाउनका लागि ठाउँ ठाउँमा आगो बालेर जीउ तताउने क्रम बढेको छ ।
अत्यधिक मात्रामा चिसो बढेका कारणले अस्पतालमा रुघाखोकी, दम तथा निमोनियाका रोगीहरू उपचारका लागि आउनेको सङ्ख्यामा वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । यस्तो बेलामा कोरोनाको जोखिम भएकाले सतर्क रहनका लागि चिकित्सकहरूले सर्वसाधारणमा आग्रह गरेका छन् ।
यसै गरी चिसोबाट जोगिनका लागि शरीर ढाक्ने गरी लुगा लाउन तथा तातो खानेकुरा, तातो पानी तथा अत्यधिक झोल पदार्थ सेवन गर्नका लागि चिकित्सकहरूले सल्लाह दिनु भएको छ ।
खास गरेर विद्यालयहरू खुल्ला भएका कारणले बिहान स्कुल जाने साना साना विद्यार्थीहरू प्रभावित हुन थालेका छन् ।







प्रतिक्रिया राख्नुहोस्