मध्यपहाडी लोकमार्ग : दैनिक तीन घण्टा बन्द

पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा शुक्रवार बसेको सर्वपक्षीय बैठकले अप्ठेरो भिरमा कटान गर्नका लागि मङ्सिर २१ गते आइतवारदेखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय भएको हो ।
लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ७ खरेहादेखि वडा नं. ८ को दोबिल्ला बिचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय भएको छ । पर्वतको सडक खण्डमा बिहान ११ बजे देखि दिउँसो साढे २ बजे सम्म सडक बन्द निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा अहिले धमाधम काम भइरहेको छ । अहिलेसम्म लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोविल्ला बीचको दुरीमारहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो । सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए । आयोजनासँग ३६ महिनामा निर्माण काम सक्ने गरी सम्झौता भएपनि गत भदौमा सम्झौता अवधि सकिईसकेको छ ।
कोभिड-१९ का कारण झण्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि सुरु भएको थियो । पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन पनि सुरु गरिएको छ । स्तरउन्नतीको कामलाई तीव्र बनाउँदै मोदीखेत देखि कालोपत्रे बिच्छ्याउन सुरु गरिएको भुसालले जानकारी दिनुभयो ।
कम्पनीका प्रतिनिधि राजाराम आचार्यका अनुसार जाडो नबढे सम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ । अनुकल भए सम्म कास्की र पर्वतको सिमाना सम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने आचार्यले बताउनुभयो । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले रु.८३ करोड ९८ लाख रुपैयाँमा ठेक्का लिएको हो ।







प्रतिक्रिया राख्नुहोस्