तपाईँ सुन्दै हुनुहुन्छः

रोकिएनन् महिला हिंसाका घटना

सुर्खेत । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले देशव्यापी रुपमा सञ्चालन भइरहेको छ ।

यसअघि पनि हिंसाजन्य घटना नियन्त्रण गर्न भन्दै सचेतनामूलक कार्यक्रम नभएका भने हाईनन् । समाज क्रमशः शिक्षित र सचेत बनिरहँदा हिंसाका घटना भने रोकिएका छैनन् ।

आपराधिक घटना रोक्न दर्विलो कानुन बनाएर दोषिमाथि सजाय भएपनि घटना बढ्दो क्रममा छ । सुर्खेत प्रहरीको आँकडा अनुसार महिला माथि हुने हिंसा बर्षेनी बढ्दै गइरहेको छ ।

चालु आर्थिक वर्षको आधा मंसिरसम्मको संख्या २०४ पुगेको छ । त्यसमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा ८ दिनमा १६ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका महिला सेल प्रमुख डिला विकले जानकारी दिनुभयो ।

उहाँले गत आर्थिक वर्षमा ३ सय ७२ वटा घरेलु हिंसाका घटना दर्ता भएको बताउनुभयो । ‘हिंसा आफंैमा राम्रो कुरा होइन र कदापी स्वीकार्य पनि छैन,’ उहाँले भन्नुभयो, ‘हिंसा न्यूनिकरण गर्न र रोक्न घरैबाट अभियानको थालनी हुनुपर्छ किनभने आर्थिक अभाव झेल्दै आएको परिवार बढी हिंसाको शिकार बन्ने गरेको पाइन्छ ।’

उहाँका अनुसार प्रहरीले विपन्न वर्गका पीडितलाई निःशुल्क न्यायिक उपचार दिलाउन निरन्तर लागि रहेको छ । सीप विकास, लैङगिक हिंसा निवारण तथा महिला सशक्तिकरणमा ५ करोड खर्च गरेको कर्णाली प्रदेश सरकारले यस वर्ष महिला विरुद्ध हिंसा विरुद्धको १६ दिने अभियानका लागि मात्र डेढ लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

सरकारले महिला हिंसा न्यूनीकरणमा वर्षेनी खर्च गदेै आइरहेको भए पनि लगानी अनुरुपको अपेक्षित नभएको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो ।

उहाँले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी हिंसारहित समाज निर्माणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले हरेक व्यक्तिले सचेततापूवर्क अग्रसरता लिनुपर्ने औल्याउनुभयो ।

यता बलियो कानून निर्माण र घटनामा संलग्नलाई कार्वाही गरेर मात्र हिंसामा कमी नआउने मानवअधिकारकर्मी लक्ष्मी शर्मा बताउनुहुन्छ । ‘महिला मात्र होइन, आज पुरुष पनि हिंसाको शिकार बन्दै गएका घटना सार्वजनिक हुन थालेको छन्,’ उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक, वृद्ध–वृद्धा, बुवा–आमा समेत घरमा हिंसाको शिकार बन्नुपरेको छ ।’

उहाँले हरेक प्रकारका हिंसालाई रोक्न र सभ्य समाज निर्माण गर्न सरकार तथा हरेक नागरिक सचेत हुन आवश्यक रहेको बताउनुभयो । लोकतन्त्रमा राज्यका प्रत्येक अंगलाई क्रियाशील राख्ने काममा दलहरुको मुख्य भूमिका महत्वपूर्ण रहने भएकाले जनप्रतिनिधि सक्षम हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले महिला हिंसा विरुद्धका अभियान केवल अभियानमै सीमित नभई समाजमा निरन्तर खबरदारीको खाँचो रहेको औल्याउनुभयो । ‘चोकमा भेला भएर भाषण गरेकै भरमा हिंसा अन्त्य हुँदैन । परिवारका हरेक सदस्य शिक्षित र सभ्य हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पछिल्लोसमय युवा पुस्तामा आएको विचलन, लागुऔषध दुव्र्यशन, आर्थिक संकटले समेत हिंसालाई प्रश्रय दिइरहेको छ । समाजका हरेक नागरिक शिक्षित, सभ्य र संस्कारी भएको खण्डमा हिंसा अन्त्य हुने निश्चित छ ।’

सबै पुरुष दोषी हुँदैनन्
महिला हिंसा भन्ने शब्दले पुरुषबाट पीडित महिला भन्ने नै बुझिन्छ । हिंसा के हो ? कसैलाई चोट नपुर्याइकन आफूखुसी हुन नसक्नु र आफ्नो इच्छापूर्तिमा जबर्जस्ती अरुलाई प्रयोग गरिनु नै हो ।

यो सामान्य अर्थमा विशाल वास्तविकता लुकेको छ । प्रश्न उठ्ने गर्छ– कसले गर्छ महिलामाथि हिंसा ? समाज र महिला अधिकारकर्मी आक्रामक हुन्छन् पुरुषहरुप्रति । के पुरुष प्रवृत्ति भनेको हिंसात्मक प्रवृत्ति नै हो त ? यसले सबै पुरुषलाई हिंसात्मक संज्ञा दिन मिल्ने हो ? अवश्य होइन, सामान्यीकरण गरेर पुरुष सबै खराब भन्न मिल्दैन ।

कुनै देश, कुनै धर्म, कुनै संस्कृति, कुनै भाषामा छैन महिलालाई अन्याय गर्नु भन्ने । महिलाप्रतिको आदरभाव र प्रेमले नै यो संसारको सृष्टि भएको हो ।

महिला जसले जीवन दियो, जीवनमा प्रेम पैदा गरायो, जीवनलाई रुपान्तरण गरायो आमाको रुपबाट, दिदीबहिनी, जीवन संगिनीका रुपबाट । ती सबै महिलालाई यो आदर र प्रेमको भावले हेर्ने कलाको विकास गराउन सके हिंसात्मक प्रवृत्ति अन्त्य हुन्थ्यो कि ?

कसरी हिंसा रोक्ने ?
नेपालको संविधानले हिंसामुक्त न्यायिक समाज परिकल्पना गरेको छ । संविधानको यस मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेको सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button