राजविराजमा लैङ्गिक हिंसा विरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न

सप्तरी । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसा विरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको आयोजना र मैथिली महिला परिषद्को संयोजनमा भएको प्रतियोगितात्मक मैथिली कविता गोष्ठिमा राज राय प्रथम, पिंकी झा द्वितिय र मीना साह तृतीय हुनु भएको छ ।
रायले ‘बलात्कार र न्याय’, झाले ‘सुरक्षित जीवनको अधिकार’ तथा साहले ‘मिथिलाको छोरी’ शिर्षकमा कविता वाचन गर्नुभयो । प्रथम, द्वितिय र तृतीयलाई क्रमशः कार्यक्रमका प्रमुख अतिथी मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास र मैथिली महिला परिषदकी अध्यक्ष शान्ति झाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । प्रमुख अतिथी पोखरेललाई कार्यक्रमका अध्यक्ष झाले खादा ओढाएर सम्मान गर्नुभयो ।
पुरस्कार वितरण गर्नुहुँदै प्रमुख अतिथि मनोहर पोखरेलले कोरोनालाई अपराध मान्ने समाजले बलात्कारमा मौन रहन र मिलापत्र गर्न नमिल्ने बताउनु भयो । हिंसा नगर्ने र नसहने मात्र नभई हिंसा थाहा पाउने हरेकले खबरदारी गर्न आवश्यक रहेको पोखरेलले बताउनु भयो । लैङ्गिक हिंसा महिलाको मात्र समस्या नभई साझा समस्या हो भनेर बुझ्न, बुझाउन सके मात्र सभ्य समाजको निर्माण गर्न सहज हुने उहाँले बताउनु भयो ।
राष्ट्रिय गीत र गोसाउनी गीतबाट सुरु भएको कार्यक्रममा बन्दना मिश्रले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा मिश्रले हिंसालाई सामान्य रुपमा लिने सोंच, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण हिंसा बढदै गएकोले कानूनलाई कठोर दण्डनीय बनाउन र सामाजिक सोंच परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्