तपाईँ सुन्दै हुनुहुन्छः

महासङ्घमा पर्यटन क्षेत्रबाट थपलियाको उम्मेदवारी

काठमाडौँ। देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभाअन्तर्गत जारी निर्वाचनमा पर्यटन क्षेत्रबाट एकमात्र उम्मेदवारका प्रत्यासी रामशरण थपलिया चुनावी मैदानमा हुनुहुन्छ । महासङ्घका निवर्तमान केन्द्रीय सदस्य थपलिया पुनः दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यको उम्मेदवारका प्रतिस्पर्धामा होमिनुभएको हो ।

मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्येको पर्यटन क्षेत्रबाट थपलियाको मात्र केन्द्रीय सदस्यमा उम्मेद्वारी परेको छ । कोभिड–१९ महामारीका कारण थलिएको मुलुकको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार तथा निजी क्षेत्रको साझेदारिता र समन्वयलाई फराकिलो पारेर पर्यटनमार्फत देशको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो उमेदवारी रहेको उहाँको दाबी छ । महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाल समूहबाट एसोसिएटतर्फको उहाँ उम्मेदवार हुनुहुन्छ । एसोसिएट उपाध्यक्षमा रामचन्द्र साँघाई सौरभ ज्योतिसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

ठमेल पर्यटन विकास परिषद्को पूर्वअध्यक्षसमेत रहेका थपलियाले पर्यटन क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्ने सरल र चातुर्य व्यक्ति मानिनुहुन्छ । निजी क्षेत्रका पर्यटन व्यवसायीलाई समन्वय र एकताबद्ध गर्दै पर्यटनका विभिन्न गतिविधिमा सक्रिय थपलियाले पर्यटन र समग्र निजी क्षेत्रको उन्नयन र विकासमा प्रतिबद्धताका साथ लाग्ने प्रण गर्नुभएको छ । पर्यटन क्षेत्रकै लागि पनि मेरो उम्मेदवारी आफँैमा महत्वपूर्ण रहेको भन्दै उहाँले पर्यटन क्षेत्रको सुधार, पूर्व मेचीदेखि महाकालीसम्मका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्य रहेको सुनाउनुभयो ।

प्रत्यासी थपलियाले भन्नुभयो, “उद्योग पर्यटन क्षेत्र भनेको आफैँमा गतिशील क्षेत्र हो, अब यति गरेपछि सकियो भन्ने हुँदैन । यस्तोमा हामी सबैको ध्येय पर्यटन क्षेत्र उद्योगको विकास र विस्तार नै हो । यद्यपि कोभिड–१९ का कारण आशातित काम हुन सकेनन् । पर्यटन बजार लामो समय ठप्प भयो । अब बिस्तारै चलायमान हुँदैछ । व्यवसायी एकताबद्ध गरेर लैजानका लागि पनि मेरो नेतृत्व अपरिहार्य छ ।” व्यावसायिक हकहित र समग्र उद्योग, पर्यटन क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्नसक्ने क्षमता आफूमा रहेको भन्दै उहाँले त्यसैका आधारमा धेरै व्यवसायीको मत पाउने दाबी गर्नुभयो ।

मङ्सिर ११ देखि शुरु भएको महासङ्घको साधारणसभाको आज तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । महासङ्घको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नुहुनेछ । यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचनमा होमिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button