तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा एकैदिन दुई अस्पतालको शिलान्यास

सुर्खेत । नेपाल सरकारले सुर्खेतमा एकैदिन दुई अस्पतालको शिलान्यास गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइली अस्पताल र जिल्लाकै बराहताल गाउँपालिका–५, बड्डीचौर अस्पतालको शुक्रबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले शिलान्यास गर्नु भएको हो ।

सरकारले एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने कार्यक्रम अन्र्तगत बहुबर्षीय टेण्डरका आधारमा ती दुई अस्पतालको शिलान्याससँगै निर्माण कार्य शुरु भएको छ ।

१८÷१८ करोड रुपैयाँको लागतमा बन्न लागेका ती १५ शैयाका अस्पताल सञ्चालनमा आएपछि नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जतिसक्दो चाँडो अस्पताल निर्माण सम्पन्न गर्नुका साथै गुणस्तरीय सेवा प्रवाहका लागि सबै पक्षको समान जवाफदेहिता रहने औल्याउनुभयो ।

उहाँका अनुसार १५ शय्याको विशेषज्ञ डाक्टरसहितको सेवा रहने ती अस्पताल अबको दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै लाटिकोइलीमा बन्न लागेको १५ शैयाको विशषेज्ञ चिकित्सकसहितको अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरिएको छ । गम्भीर खालका रोगहरुको विशेष उपचार सेवा बाहेक प्रत्येक नागरिकलाई अन्य सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरकै अस्पतालबाट पाउने व्यवस्था गर्नका लागि सरकारले एउटा स्थानीय तहमा एउटा अस्पताल अनिवार्य बनाउने योजना अघि सारेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button