छठ विशेष ः आज सन्ध्याकालीन अर्घ दिइदै, घाटहरूमा प्रसाद सामाग्रीसहित ब्रतालुहरु

जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।
शुक्ल पक्ष चतुर्थी तिथिबाट नहा खा गरेर सुरु भएको छठ पर्वमा हिजो खरना विधि सम्पन्न गरिएको छ । खरना गरेपछि व्रतालुहरूको ३६ घण्टाको निराहार ब्रत सुरु हुन्छ । जुन गए रातिबाट नै सुरु भइसकेको छ ।
आज बिहानदेखि नै प्रसाद सामाग्रीहरू छठ घाटमा राख्ने काम सुरु भएको छ । कतिपय ठाउँमा दिउँसो तीर पनि प्रसाद सामाग्रीहरू खाली खुट्टा लाने चलन रहेको छ । जनकपुरधामको ऐतिहासिक पोखरीहरूको घाटहरू यत्तिखेर प्रसाद सामाग्रीहरूले भरिएको छ । व्रतालुहरू दिउँसो तीर सूर्य अस्तको प्रतीक्षा गर्दै आधा शरीर पानीमा डुबाएर सूर्यको उपासना गर्ने गर्दछन् ।
निक्कै कठोर व्रतको रूपमा रहेकाले व्रतालुहरू निक्कै चोखो भएर बस्नु पर्ने भएकाले शौच गर्दा पनि नुहाउने तथा लुगा फेर्ने चलन छ ।
भोलि सप्तमी तिथिका दिन उदाउन लागेको सूर्यलाई दोस्रो अर्घ दिएर पर्वको समापन गर्ने चलन छ । सप्तमी तिथिका दिन उदाउन लागेको सूर्यलाई दोस्रो अर्घ दिएर पर्वको समापन भएपछि ३६ घण्टाको कठोर ब्रत समापन हुन्छ । त्यसपछि मात्र निराहार रहेकाहरूले नुनसहितको खाना खाने चलन छ ।
परिवार जनको कल्याण, सुख शान्ति, समृद्धि तथा सन्तान प्राप्ति एवं चर्म र छालाजन्य रोग नलागोस् भन्ने कामनासहित यो पर्व मनाउने गरिन्छ ।
यस पटक कोरोनाको महामारी भएका कारणले ब्रत गर्नेहरूले निक्कै सुरक्षा सावधानीसहित पर्व मनाइरहेका छन् ।
यसमा सेनिटाईजर अपवित्र मानिने भएकाले यसको प्रयोग नगरेर साबुन पानीले हात धुने मास्कको प्रयोग गर्ने तथा सकभर भौतिक दूरी कायम गर्नेतर्फ विभिन्न छठ पूँजा समितिहरूले ब्रतिहरुलाई अभिप्रेरित गर्ने काम गरिरहेका छन् ।
छठ पर्वमा प्रकृतिको पूँजा, प्रकृतिको संरक्षण, जातीय एकता, भाइचारा, आपसी सद्भाव तथा व्यापक सामाजिक सहभागिताको पर्व भएकाले यसको महत्त्व वर्षै पिच्छे बढी नै रहेको छ ।
यसमा प्रयोग गरिने सामाग्रीहरू पनि कृषि उत्पादन तथा विभिन्न जातिले उत्पादन गरेको वस्तुहरू रहने भएकाले पर्वमा व्यापक जातीय सहभागिता हुने गरेको छ । यसका साथै प्रसादका परिकारहरू पनि समान भएकाले उच्च, नीच, धनी तथा गरिबको भावना पनि नहुने पर्वको रूपमा रहेको संस्कृति विद् डा. रेवती रमण लालले जानकारी दिनु भयो ।
यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।
यसमा प्रयोग गरिने प्रसादहरुमा ठेकुरा, भुसवा, खजुर, मिष्टान्न, केला, उखु, नरिवल, स्याउ, सुन्तला, मूला, आदी, बेसार, कागती, केराउ, सुथनीसहितको परिकारहरू डालामा सजाएर सूर्यलाई देखाएर अर्पण गर्ने चलन छ ।
यसमा प्रयोग गरिने प्रसादका सामाग्रीहरू, माटाका भाडाहरू, टपरी, डगरी, सुपलीसहितका सामाग्रीहरूको व्यवस्थापनमा ब्रतालु एवं परिवारका अन्य सदस्यहरु करिब १५ दिन अगाडीदेखि नै जुट्ने गरेका छन् ।
जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको पोखरी एवं सरोवरहरू उत्तिखेर सजिसजाउ देखिन्छन् । जनकपुरधामको तीन दर्जन पोखरीहरूमा छठको रौनकता हेर्न लायकको हुन्छ ।
स्थानीय प्रशासनले भिडभाड नगर्न, सामाजिक तथा भौतिक दूरी कायम गर्न तथा स्वास्थ्य सुरक्षा सावधानी अपनाउनका लागि सबैमा अपिल गरेको छ । उता छठमा हुने सम्भावित भिडलाई देखेर उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मीहरू घाट घाटमा परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।
यसै बिच प्रदेश नंं २ का सरकारले छठ पर्वको अवसरमा आज र भोलि गरेर दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ ।
यसै बीच प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले महान् पर्व छठको उपलक्ष्यमा सम्पूर्ण प्रदेश बाँसीमा हार्दिक शुभकामना दिनु भएको छ । उहाँले आपसी सद्भाव, भाइचारा तथा सामाजिक एकताको पर्वको रूपमा रहेको पर्वलाई सुरक्षा सावधानी सहित मनाउनका लागि आग्रह गर्नु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्