तपाईँ सुन्दै हुनुहुन्छः

‘सडक सुरक्षाका लागि सिसिटिभि तथा राडार जडान गरिने’

जनकपुरधाम । प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सडक सुरक्षाका लागि पूर्व पश्चिम लोक राजमार्गको विभिन्न ठाउँमा सि सि टि भि क्यामरा तथा राडार चाँडै जडान गरिने जानकारी दिनु भएको छ ।

आन्तरिक ममिलामन्त्री यादवले आज जनकपुरधाममा लाईफ नेपालले आयोजना गरेको कोरोना भाईरस तथा बाढी पूर्व तयारी र प्रतिकार्य सन्दर्भमा सम्पन्न गतिविधिको समीक्षा कार्यक्रममा बाराको पथलैया, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिवास तथा सिरहाको लहान क्षेत्रमा राडार तथा सिसि टिभि जडान गरिने जानकारी दिनुभयो ।

उहाँले यसबाट सडकको अवस्थाका बारेमा प्रदेश नंं २ का प्रदेश प्रहरी कार्यालयले कार्यालयमा नै बसेर सोझै निगरानी एवं मातहतका यूनिटलाई निर्देशन गर्ने भएकाले यसले सडक दुर्घटनामा कमी आउने विश्वास प्रदेश सरकारको रहेको बताउनु भयो ।

यसका साथै सडक सुरक्षा अपनाउदा पनि कुनै ठाउँमा सडक दुर्घटना भएको खण्डमा घाईतेलाई समयमा उपचारका लागि अस्पतालमा लानका लागि सुरक्षा कर्मी मातहत नै रहने गरी एम्बुलेन्सको व्यवस्था गर्न लागेको बताउनु भयो ।

खास गरेर राडार तथा सि सि टि भि क्यामराबाट सडकको अनुगमन गर्दा सवारी साधनलाई अत्यधिक गतिमा गुडाउने प्रबृत्तिमा कमी आउने विश्वास आफूहरुको रहेको मन्त्री यादवले बताउनु भयो ।

प्रदेश नंं २ का अहिले पनि कोरोना दृष्टिकोणले उच्च जोखिममा रहेको बताउदै काठमाडौ तथा भारतको विहारसँग प्रत्यक्ष रुपमा जोडिएका कारणले कुनै पनि बेलामा संक्रमण बढ्ने खतरामा रहेको बताउनु भयो ।

लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा शहिदनगर नगरपालिकाका प्रमुख उदय कुमार बरबरीया यादव र प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले अहिले कोरोना कम मात्र भएको बताउदै जोखिम यथावत रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button