तपाईँ सुन्दै हुनुहुन्छः

रूपन्देहीको सैनामैनामा नेपालकै नमुना क्रिकेट रंगशाला बन्ने

रुपन्देही । रूपन्देहीको सैनामैना ७ लम्टैयामा नेपालकै ठूलो र नमुना क्रिकेट रंगशाला बन्ने भएको छ । करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डीपीआरमा रंगशाला ९४ हजार ८ सय १७ वर्गमिटर क्षेत्रफल समेटिएको छ ।

१५ बिगाह क्षेत्रफलमा बन्न लागेको उक्त रंगशालाको नाम गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला राखिएको छ । सैनामैना नगरपालिकाले रंगशाला निर्माणको लागि गत वर्षदेखि बजेट छुट्टाउन शुरु गरेको छ ।

गत वर्ष ३० लाख विनियोजन गरिएको मैदानका लागि यस वर्ष थप १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डीपीआर बनाइएको छ । करिब ६ महिनाको स्थलगत अध्ययन गरी रंगशालाको डीपीआर तयार गरिएको सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले जानकारी दिनुभयो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ कि.मि उत्तरतर्फ निर्माण हुन लागेको उक्त रंगशाला नेपालकै सबैभन्दा ठूलो ९० यार्डको रहेको नगरपालिकाले जनाएको छ । उक्त रंगशाला पूर्व–पश्चिम लोकमार्गबाट २ कि.मि दक्षिणतर्फ रहेको छ ।

खेल पर्यटनमार्फत सैनामैनाको विकास गर्ने उद्देश्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागिएको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button