तपाईँ सुन्दै हुनुहुन्छः

हर्सिङडाँडामा प्याराग्लाईडिङको समेत सफल परिक्षण

लमजुङ- उत्तरी लमजुङको मस्र्याङदी गाउपालिका–३ स्थित ऐतिहासिक पर्यटकिय हर्सिङडाँडाबाट प्याराग्लाईडिङको सफल परिक्षण भएको छ । मस्र्याङदी गाउँपालिका–३ अन्तर्गत ऐतिहासिक हर्सिङडाँडाको पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने उद्देश्यले प्याराग्लाईडिङको परिक्षण गरिएको हो ।

मस्र्याङदी गाउँपालिकाको समन्वयमा पोखरास्थित ओपन स्काई प्याराग्लाईडिङ प्रालिले दुईवटा परिक्षण उडान गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । आन्तरिक पर्यटकहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको ऐतिहासिक हर्सिङडाँडालाई प्याराग्लाईडिङको गन्तव्य बनाउने लक्ष्य राखि परिक्षण उडान गरेको अध्यक्ष गुरुङको भनाई छ ।

पहिलो पटक गरिएको परिक्षण उडान सफल भएसँगै हर्सिङडाँडा प्याराग्लाईडिङको लागि उपयुक्त गन्तव्य रहेको अनुमान गरिएको छ । परिक्षण उडान सफल भएसँगै यसको सम्भाव्यतालाई थप अध्यन गरी आवश्यक विकास र प्रवद्र्धनका लागि सरोकारवालासँग आवश्यक सहकार्य गरि अघि बढ्ने अध्यक्ष गुरुङको भनाई छ ।

पालिकाभित्र नै पहिलो पटक गरिएको प्याराग्लाईडिङमा ओपन स्काई प्याराग्लाईडिङ प्रालिका फ्लाईट पाइलट नुरेन रानाले गाउँपालिका अध्यक्ष गुरुङलाई लिएर उडाएका थिए भने अर्का फ्लाईट पाइलट सुमन मगर एक्लैले प्याराग्लाईडिङ उडाएका थिए । अंग्रेज नेपाल युद्धका नाईके सरदार भक्तीथापाको जन्मथलो समेत रहेको हर्सिङडाँडाको प्रवद्र्धनका लागि यसअघिनै विबिध गतिविधी गरेको बताउदै गाउपालिकाका उपाध्यक्ष होमबहादुर विकले प्याराग्लाईडिङको गन्तव्य बन्नसके थप पर्यटक आकर्षण गर्न सकिने बताउनुभयो ।

पछिल्लो समय कोरोना भाईरस संक्रमण जोखिमका बाबजुत पनि पर्यटकहरु हर्सिङडाँडामा पुग्ने गरेका छन् । दैनिक ५०/६० जनाको हाराहरीमा आन्तरिक पर्यटक पुग्ने उक्त ऐतिहासिक स्थलमा थप पर्यटकिय संरचना निर्माण गर्नसके स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सकिने मस्र्याङदी ३ का वडा अध्यक्ष प्रेमबहादुर वस्नेतको बनाई छ ।

विश्वप्रसिद्ध अन्नपुर्ण पदमार्ग अन्तर्गत मस्र्याङदी–३ खुदीबजारबाट साढे १२ किलोमिटर दूरीमा रहेको हर्सिङडाँडामा हाल कच्ची मोटरबाटो निर्माण भईसकेको छ । सरदार भक्ति थापाले बाल्यकालमा बस्तु चराउने तथा खेल्ने थलोको रुपमा चिनिएको हर्सिङ डाँडामा अझैपनि ऐतिहासिक सम्पदाका बस्तुहरु रहेको बताईएको छ ।

समुन्द्री सतहबाट दुईहजार दुईसय ६० मिटर उचाईमा रहेको हर्सिङडाँडा प्राकृतिक दृष्यावलोकनको निम्ती पनि महत्वपुर्ण मानिन्छ । उक्तस्थानबाट बाट बुद्ध, हर्कपिक, ङादी पिक, हिमचुली, लमजुङ, माछामुच्छ्रे लगायतका दर्जनौं हिम श्रृंखला देख्न सकिन्छ ।
हर्सिङडाँडाको प्रवद्र्धन सँगै नजिकै रहेका ढंगै र सिउरुङमा यसअघिनै व्यवसायिक होमस्टे सञ्चालनमा आएका छन् । व्यवसायिक व्याराग्लाईडिङ शुरुभएसँगै उक्त होमस्टे गाउँहरुमा पनि थप पर्यटकिय चहलपहल हुने विश्वास गरिएको छ ।

पछिल्लो समय पोखराबाट प्याराग्लाईड विस्थापित हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजि भईरहेका बेला लमजुङको राईनासकोट, हर्सिङडाँडा, बेसीशहरको पुमा, लगायतका ठाउँहरुको सम्भाव्यताले व्यवसायिक प्याराग्लाईड गर्नेहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button