स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको खातामा तीन लाख सङ्कलन
लहान- सिरहाका स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीका सन्तानको भविष्यका लागि युवाहरुले स्थापना गरेको खातामा रु तीन लाखभन्दा बढी रकम जम्मा भएको छ । नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव रोयण्टर मण्डलको पहलमा स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखामा खोलेको चुन्नामुना खातामा रु तीन लाख २० हजार रकम जम्मा भएको हो ।
बैंकमा खाता खोलेर सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा संस्थाहरुबाट उक्त रकम जम्मा भएको पत्रकार मण्डलले बताउनुभयो । पत्रकार मण्डलको अभियानमा देश विदेशका दर्जनौँ व्यक्तिहरु सहभागी भई सके जति रकम बैंक खातामा जम्मा गरेको जनाइएको छ । बैंकमा जम्मा भएको रकम स्वर्गीय पत्रकार चौधरीका छोरा छोरी १८ वर्ष पुगेपछि झिक्न पाउने विधि बनाइएको पत्रकार मण्डलले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ सिरहाका सदस्य युवा पत्रकार चौधरीको यही कात्तिक ११ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । नसासम्बन्धी रोगबाट पीडित सिरहाको सुखीपुर नगरपालिका–८ निवासी ३५ वर्षीय पत्रकार चौधरीको मृत्यु भएपछि उहाँका श्रीमती, दुई छोरा र एक छोरीको बिच्चली भएको छ ।
स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।
यही कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्दा अस्पतालका दुई स्वास्थ्यकर्मीसहित २० जनाको रिपोर्ट पोजेटिभ आएका नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिनुभयो ।
सङ्क्रमित सबै होम आइसोलेसनमा रहेको जनाइएको छ । सङ्क्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य भइरहेको प्रमुख यादवले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्