जनतासँगै प्रदेश सरकार छः मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुव्बा गुरुङले जनताको सुख दुःखमा जनतासँगै प्रदेश सरकार रहेको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आज दिउँसो मस्र्याङ्दी गाउँपालिका वडा नं।१ घनपोखरामा एक घर एक धारा खानेपानीको उद्घाटन गर्दै विगतमा प्रदेश सरकार नहुँदा जनताले कुवाँबाट पानी खानुपर्ने, एक गाग्री पानी भर्न घण्टौ कुर्नुपर्ने लगायतका समस्याको अन्त्य गर्दै यतिबेला प्रदेश सरकारले जनताको घर घरमै धारा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
प्रदेशका सबै पालिकामा कालोपत्रे सहितको सडक पु¥याउने लक्ष्यले प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । उहाँले भन्नुभयो, “पाँच वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा पक्की सडक निर्माण गर्छौ ।” कोभिड १९ का बिरामीहरुको प्रदेश सरकारले निःशुल्क उपचार गर्दै आएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । सो वडाको नायू र घनपोखरामा ६५/६५ गरी १३० घरमा एक घर एक धारा पुगेको छ । स्थानीयको २० लाख बराबरको जनश्रमदान र प्रदेश सरकारको गरी कुल रु एक करोड आठ लाख २९ हजार रुपैयाँमा सो योजना निर्माण भएको वडा कार्यालयले जनाएको छ । त्यस्तै, सोही वडाको वडा कार्यालय भवनको मुख्यमन्त्री गुरुङले आज शिलान्यास गर्नुभयो । गाउँपालिकाको ७१ लाख रुपैयाँमा एउटा मिटिङ हलसहित पाँच कोठे एक तले भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्