जाजरकोटमा धान उत्पादन घट्यो
जाजरकोट । जाजरकोट जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा ३.३ प्रतिशतले धानको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
नलगाड नगरपालिका ६ थाप्लाका राजेन्द्र खड्काले ओख्र्याल ज्यूलामा गत वर्ष १५ मुरी धान उत्पादन भएको थियो । यस पटक भने उत्पादन आधाले घटेपछि खड्का चिन्तामा पर्नु भएको छ । ‘वर्षभरि परिवारको छाक टार्ने धान खेती नै हो, खड्काले भन्नु भयो । यसपटक परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ’, उहाँले भन्नु भयो ।
त्यसैगरी नलगाड ४ औलका तीलबहादुर रावल धान उत्पादन घटेपछि निराश हुनु भएको छ । ‘वर्षभरि धान्ने धान हो, यो पटक उत्पादन तेव्वरले घट्यो’, उहाँले भन्नु भयो ।
खड्का र रावल त केही उदाहरण मात्र हुन् । जिल्लाभर धान खेती गरेका कृषकहरु उत्पादन आधाले घटेपछि निराश भएका छन् ।
बाढीपहिरो, सिँचाईको अभाव, उन्नत बीऊको कमी, परम्परागत रुपमै धानको खेती हुनु लगाएत कारणले वर्षेनी धान उत्पादन घट्दै गइरहेको बारेकोट ५ तोल्खानाका खड्क शाहले बताउनु भएको छ ।
जाजरकोटका सात वटै स्थानीय तहमा चैते तथा वर्खे धान खेती हुने गरेको छ । तीन हजार ६३ हेक्टर क्षेत्रफलमा गत वर्ष ९ हजार ९ सय ७१ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष ९ हजार ६ सय ५८ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश अधिकारीले बताउनुभयो ।
फुलफुल्ने समयमा पानी नपरेको कारण उत्पादन घटेको अधिकारीले जानकारी दिनु भयो । १० हजार ८ सय ५० हेक्टरमा मकै, तीन हजार ६३ हेक्टर क्षेत्रफलमा धान र १ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा कोदोको खेती भएको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्