बारामा प्रहरी र तस्कर समूहबीच झडप,तीन प्रहरीसहित एक बालक घाइते
बारा । बाराको कबही गोठमा प्रहरी र तस्कर समूहबीच झडप हुँदा तीन प्रहरी सहित एक जना बालक घाइते भएका छन् ।
जिल्लाको सीमावर्ती सुवर्ण गाउँपालिका वडा नं.२ कवही गोठ बजारमा पर्ने इलाका प्रहरी कार्यालय अगाडि हिजो साँझ प्रहरी र स्थानीयबिच झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले चलाएको गोलीको छरा टाउकोमा लागेर सडकको छेउमा बसिरहेका १४ वर्षीय बालक रञ्जन यादब गम्भीर घाइते भएका छन् । उनको वीरगन्ज स्थित नारायणी बायोधा अस्पतालमा उपचार भइरहेको छ । घाइते बालकको सिटी स्क्यान भएको र गोली टाउकोको बायाँपट्टिको भागमा भित्रै रहेको अस्पताल स्रोतले जनाएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको छ । आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप भएको थियो ।
झडपमा स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएका छन् ।
स्थानीयको ढुंगाुमढाबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवलदार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।
घाइते तीनै जना प्रहरीको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रहरीमध्ये प्रहरी नायव निरीक्षक गिरीको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्