गुल्मी प्रहरीद्वारा दुई मोटरसाइकलसहित विस्फोटक पदार्थ बरामद

गुल्मी । गुल्मीको प्रमुख पर्यटकीय एव धार्मिक तपोभूमी रेसुङ्गामा वन्यजन्तुको सिकार र धार्मिक वन नष्ट हुन थालेको गुनासो आइरहेका बेला गुल्मी प्रहरीले वन्यजन्तु चोरी शिकारमा प्रयोग हुने दुई मोटरसाइकलसहित विस्फोटक पदार्थ बरामद गरेको छ । रेसुङ्गा क्षेत्रमा दैनिक खुलेयाम वन्यजन्तु शिकार गर्ने र सयौं स्थानीयले घाँस दाउरा गर्न थालेपछि रेसुङ्गा संरक्षण समितिले प्रहरी चौकीको माग समेत गरेको थियो ।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको गस्ती टोलीले हिजो राति साढे ११ बजे रेसुङ्गा संरक्षण क्षेत्रको गौशाला नजिकबाट लुं ३५ प ४८५६ नम्बरको २२० पल्सर र लु १६ प १९१७ नम्बरको होण्डा साइन मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो । त्यस्तै मोटरसाइकलसहित झोलामा राखिएको बारुद मोटो एक सय र मसिनो एक सय ७५ ग्राम, छर्रा फलामको एक सय १५, किटको ६० र सिसाको एक सय ५० ग्राम बरामद गरिएको छ ।

साथै केप २१ थान, केपमा प्रयोग हुने पटका दुई रोल, लाइटको ब्याट्री तीन थान, रेती र पेचकस दुई/दुई थान, सियो धागो तीन थान, बन्दुक सफा गर्ने तेल एक बट्टा, कैँची लगायतका सामग्री फेला पारिएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । उहाँले प्रहरी नायव निरीक्षक भेष बहादुर घर्तीमगरको नेतृत्वमा प्रहरी टोली गौशाला पुग्ने बित्तिकै हतियारसहितका शिकारी भागेकाले मोटरसाइकल र केही विस्फोटक पदार्थ बरामद गर्न सफल भएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्