तस्करी गरेर ल्याइएको सामान बरामद
सुनसरी । प्रहरीले भारतबाट तस्करी गरेर ल्याइएको सामान विभिन्न स्थानबाट बरामद गरेको छ ।
भन्सार छली गरेर आयात–निर्यात भइरहेको अवस्थामा मोरङ प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । मोरङको धनपालथान गाउँपालिका १ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर मंगलबार बरामद गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नेपालबाट तस्करी गरेर भारततर्फ लगिँदै गरेको सूचनाका आधारमा १ लाख ८० हजार मूल्य बराबरको मटर बरामद गरिएको बताए ।
खड्का अनुसार नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै रहेको श्याम मण्डलको घरको आँगनबाट मटर बरामद भएको आधिकारिक बिल देखाउन नसकेपछि र भारततर्फ कटाउन लागेको अवस्थामा तस्करीको मटर नियन्त्रणमा लिइएको खड्काले बताए ।
त्यस्तै विराटनगर महानगरपालिका १५ बाट भारतदेखि नेपालतर्फ अवैध रूपमा आयात भइरहेको कपडा, जुत्ता र किराना मालसामान प्रहरीले मंगलबार राति बरामद गरेको छ । बोरामा प्याक गरेर आयात गर्दै गरेको अवस्थामा १ लाख २६ हजार मूल्य बढीको जुत्ता कपडा र किराना सामान नियन्त्रणमा लिइएको एसपी खड्काले बताउनुभयो ।
विराटनगर १४ बाट प्रहरीले बुधबार बिहान भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा ६० किलो काजु र ९० किलो जिरा बरामद गरेको छ । एक लाख आठ हजार मूल्य बराबरको काजु र जिरा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद भएका भन्सार छलीका अवैध सामान आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्