टीकापुरका कुमारराज शाहीद्वारा एक विघा बढी जग्गा दान
टीकापुर कैलाली । टीकापुर नगरपालिका वडा नम्बर ६ का कुमारराज शाहीले एक विघा बढी जग्गा दान गर्नुभएको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना मूल समितिका अध्यक्ष शाहीले टीकापुर नगरपालिका वडा नम्बर ६, विभिन्न विद्यालयलाई गरी एक विघा बढी जग्गा दान गर्नुभएको हो ।
टीकापुर ६ वडा कार्यालयलाई उच्च घर निर्माणका लागि भगवानपुरस्थित दुई कठ्ठा एक धुर जग्गा दान गर्नुभएको हो ।
शाहीले जग्गा दान गरेपछि बाढी पीडितका लागि उच्च घर निर्माण शुरु भएको वडाध्यक्ष बलिराम चौधरीले बताउनुभयो ।
शाहीले सोही जग्गासँगै रहेको १० धुर जग्गा विद्युत सहकारीको भवन निर्माण र शिवमन्दिरका ट्रस्ट निर्माणका लागि समेत दान गर्नुभएको छ । भगवानपुरस्थित रहेको शाहीको सो जग्गा रु. १४ लाख बराबरको रहेको बताइएको छ ।
शाहीले यसअघि पनि थुप्रै संघसंस्था र विद्यालयलाई जग्गा उपलब्ध गराउनुभएको छ ।
२०५६ सालमा ज्ञानोदय आधारभूत विद्यालय नुक्लीपुरलाई चार कठ्ठा, खड्ग प्रावि भगवानपुरलाई चार कठ्ठा जग्गा दिएपछि यी विद्यालय स्थापना भएका हुन् ।
शाहीले २०६५ सालमा सत्ती प्रहरी चौकीको भवन निर्माणका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रहरी चौकी भवन बनेको स्थानीय परशुराम महत्तो बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्