रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति गठन, अध्यक्षमा चक्र रावल

अछाम । सुदूरपश्चिमकै सुन्दर पर्यटकीय क्षेत्र रामारोशनको विकास र प्रवर्द्धनका लागि सुदूरपश्चिम प्रदेश सरकारले विकास तथा व्यवस्थापन समिति गठन गरेको छ ।
पहिलोपटक गठन गरिएको रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा चक्र रावल नियुक्त हुनु भएको छ । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत गठित समितिमा पाँच जना सदस्य र एक जना कार्यकारी अधिकृत चयन गरिएको छ ।
आईतबार “रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको संस्थापक अध्यक्षमा रावललाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । अछामको रामारमेशन गाउँपालिकामा पर्ने रामारोशन क्षेत्र जैविक विवधता, धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिन्छ ।
१२ बण्ड (ताल) १८ खण्ड (थुम्काथुम्की) का नामले चिनिने रामारोशनको विकास तथा व्यवस्थापनका लागि गठित समितिको अध्यक्ष चयन भएपछि रावलले संस्थापक अध्यक्षको जिम्मा आफुले पाएकाले हरेक चुनौतीलाई अवसरमा बदल्ने बताउनु भएको छ । रामारोशन क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्धनको जिम्मा आफ्नो समितिमा आएकाले सबैलाई साथ दिन उहाँले आग्रह गर्नु भएको छ । बाढी पहिरो र कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण प्रचारप्रसारमा शिथिलता आएको रामारोशनको प्रचारप्रसार तथा आन्तरिक पर्यटकलाई बढाव दिने कार्य चाँडै सुरु हुने बताउनु भयो ।
समितिको अन्य सदस्यहरुमा पशुपति कुवँर, बिर्ख रोकाया, कमल साउद र अमर साउद रहेका छन् । त्यसैगरि कार्यकारी अधिकृतमा गंगा कुवँर (बुढा) नियुक्त हुनु भएको छ ।
२५ सय मिटर उचाईमा रहेको प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।जसको आकार अंग्रेजी अक्षर ूसिूजस्तो छ। जुन बाटुले ताल भन्दा अली माथी छ । यहाँको सानो तालमा ताउने ताल हो । यो हाल पुरिने अवस्थामा छ । कतिपय ताल पुरिसकेका स्थानीय जानकार बताउने गर्दछन् । जिगाले ताल भन्दा माथिपनि धेरै तालहरु छन। यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चउर छन् । जुन अठार खण्डका नामले प्रख्यात छन्। यस्ता चउरहरु मध्येमा किनिमिनि चउर ९मैदान० सबैभन्दा ठुलो चउर हो । जसको बिच भएर कैलाश खोला बग्दछ । यो सम्भवतः अछामकै ठुलो चउर हो । यसको केहि माथि पट्टी रोशन चउर छ । यो पनि निकै ठुलो छ।
रामारोशन क्षेत्रमा तत्कालीन माओवादीले आफ्नो तालिम केन्द्र समेत बनाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्