प्रदेश राजधानी कपिलवस्तु हुनुपर्ने मागसहित रिले अनसन जारी
कपिलवस्तु । ५ नम्बर प्रदेशको राजधानी दाङको देउखुरी सार्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरिएपछि कपिलवस्तुवासीले रिले अनसन जारी राखेका छन् । प्रदेश सरकारले देउखुरी भालुवाङलाई प्रस्ताव गरेपछि शनिबारदेखि शुरु गरिएको रिले अनसन दोश्रो दिन पनि जारी रहेको छ ।
प्रदेश सभाको शुक्रबार बसेको बैठकमा स्थायी राजधानीको प्रस्ताव दर्ता गरे लगत्तै शनिबार दिउसो ४ बजेबाट कपिलवस्तुको तौलिहवामा अनसन थालिएको थियो ।
सदरमुकाम तौलिहवा स्थित प्रशासन कार्यालय अघि कपिलवस्तु बासीका नाममा नागरिक अगुवा, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी र अधिकारकर्मीहरुले रिले अनसन थालेका हुन् । हरेक दृष्टिले कपिलवस्तु प्रदेश राजधानी बनाउन उपयुक्त भएकाले आफुहरुले शान्तिपूर्ण दबाब दिन आन्दोलन स्वरुप अनसन थालेको कपिलवस्तु नगरपालिका वार्ड नं. १ वडाअध्यक्ष सुदिप पौडेलले बताउनुभयो ।
२६ सय वर्षअघि नै प्राचीन शाक्यवंशीय राजधानी बुद्धको दरबार तिलौराकोट प्राचिन कपिलवस्तु यही थियो उहाँले भन्नुभयो, अहिले हामी त्यसैका आधारमा राजधानी माग्दै छौं । पहिले नै राजधानी भएको ठाउँमा माग गर्नु हाम्रो अधिकार हो ।
भौगोलिक हिसाबले पायक पर्ने ऐतिहासिक र पुरातात्विक विश्व प्रसिद्ध ठाउ छाडेर अन्यत्र राजधानी सार्नुले नेताहरु भोटको राजनीति गरिरहेको नेकपा नेता अब्दुलरउफ खाँले बताउनुभयो ।
माग पूरा नहुन्जेल अनसन जारी रहने बताइएको छ । अहिले अनसनमा स्थानीय सहभागिता बढी रहेको छ । आन्दोलनमा ऐक्यबद्धता गर्दै हस्ताक्षर अभियान पनि चलाईएको छ ।
यस्तै प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउ अभियानले जिल्लाका प्रदेश सांसदहरुसँग छलफल गरेको छ । अभियानका संयोजक पोमनारायण पौडेलले प्रदेश राजधानी कपिलवस्तु बनाएर प्रदेश ५ का १२ जिल्लाका नागरिकलाई न्याय हुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्