प्रस्तावित चरिकोट अस्पताल ‘सङ्कटमा’

दोलखा/पाँच वर्षको अवधिमा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट (प्रस्तावित चरिकोट अस्पताल) मार्फत दोलखाको सहरी तथा ग्रामीण क्षेत्रका थुप्रै बिरामीलाई निःशुल्क रूपमा उत्कृष्ट स्वास्थ्य सेवा दिएको न्याय हेल्थ नेपाल अबको एक महिनामा औपचारिक रूपमा विदा हुँदैछ ।
कोरोना भाईरस (कोभिड १९) का कारण न्याय हेल्थ नेपाललाई सहयोग गर्ने अमेरिकन संस्था पोसिबल हेल्थ लगायत विभिन्न संस्थाहरूको वित्तीय अवस्था कमजोर भएपछि निःशुल्क रूपमा अस्पताल सञ्चालन गर्न समस्या भएको न्याय हेल्थ नेपालले जनाएको छ । सङ्घ, प्रदेश वा स्थानीय सरकारले अस्पताल सञ्चालनको लागि वार्षिक २ करोड सहयोग गर्ने हो भने न्याय हेल्थ नेपालले जनशक्ति र प्रविधि व्यवस्थापनमा अझै पनि सहयोग गर्न सक्ने न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगाल बताउनु हुन्छ ।
प्रस्तावित चरिकोट अस्पताललाई बागमती प्रदेश सरकारले प्रदेश अस्पताल बनाउने औपचारिक घोषणा गरेको भएपनि सो अनुसारको जनशक्ति र आर्थिक व्यवस्थापनको काम नहुँदा न्याय हेल्थ नेपाल बाहिरिने भएपछि अस्पताल सङ्कटमा परेको हो । अस्पताललाई पहिलेकै जस्तो गुणस्तरीय सेवा दिनसक्ने बनाउन कि प्रदेश सरकारले प्रदेश अस्पतालको लागि आवश्यक सबै सेवा सुविधा उपलब्ध गराउनु पर्ने कि न्याय हेल्थलाई केही समय आर्थिक सहयोग गर्नु पर्ने स्थानीयहरू बताउँछन् ।
नेपाल सरकारसँग अस्पताल सञ्चालन सम्बन्धी १० वर्षीय सम्झौता गर्दा भौतिक संरचना निर्माण, औषधि खरिद लगायतका कुरामा सरकारले सहयोग गर्ने सहमति बनेको भएपनि पाँच वर्षको अवधिमा न्याय हेल्थ नेपालले अस्पतालको विद्युत् महसुलदेखि मर्मत सम्भारसम्मको काम समेत हेर्नु पर्ने भएकोले पाँच वर्षमै न्याय हेल्थ नेपालको वित्तीय अवस्था कमजोर बनेको र कोरोना सङ्कटका कारण सहयोगी संस्थाको समेत वित्तीय अवस्था कमजोर देखिए पछि अस्पताल सञ्चालनमा समस्या भएको न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशक डाक्टर दंगालले बताउनु भयो ।
११ बर्ष पहिले अछामको बयलपाटामा अस्पताल सञ्चालन गरेको पोसिबल हेल्थले २०७२ सालको भूकम्प पछि २०७२ माघ ५ गतेबाट प्रस्तावित चरिकोट अस्पताल सञ्चालनको लागि न्याय हेल्थ नेपाल मार्फत सहयोग गर्दै आएको थियो । पाँच वर्षको अवधिमा न्याय हेल्थ नेपालले दोलखा जिल्लामा ७८ करोड लगानी गरिसकेको स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो । उक्त रकममा जिल्लाको विभिन्न पालिकामा रहेको १९ वटा स्वास्थ्य चौकीहरू पुनर्निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको न्याय हेल्थ नेपालले जनाएको छ ।

न्याय हेल्थ नेपालले प्रस्तावित चरिकोट अस्पताल सञ्चालन गरेको पाँच वर्षको अवधिमा दुई लाख ८० हजारको ओपिडी परिक्षण, तीन हजार नौ सय डेलिभरी, २१ सयको मेजर शल्यक्रिया, ५५ हजारलाई सामुदायिक सेवा, पाँच सय चार जनाको सि सेक्सन शल्यक्रिया, २८ हजार आठ सय ९० को डिजिटल एक्स रे, १२ हजार तीन सय ४० जनाको अल्ट्रासाउन्ड र दुई लाख पाँच हजार आठ सय ९० जनाको प्रयोगशाला परिक्षण भएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर दंगाल बताउनु हुन्छ । पाँच वर्षको अवधिमा तीन लाख ३५ हजारले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेको न्याय हेल्थ नेपालले जनाएको छ ।
प्रस्तावित चरिकोट अस्पतालले अहिले २४ सै घण्टा आकस्मिक सेवा, ओपिडी, आईपिडी, फार्मेसी, रेडियोलोजिष्ट, प्रयोगशाला, सल्यचिकित्सा, दन्त सेवा, मनोसामाजिक परामर्श, हाडर्जोनि, सुरक्षित मातृत्व, फिजियो थेरापी लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको जनाइएको छ ।
प्रस्तावित चरिकोट अस्पताललाई प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने घोषणा गरिसकेकोले सोही अनुसार व्यवस्थापन गरिनु पर्ने डाक्टर दंगाल बताउनु हुन्छ । न्याय हेल्थ नेपाललाई विदेशी सहयोग नहुँदासम्म अस्पताल सञ्चालनको लागि सरकारको सहयोग हुने अवस्था भए प्रदेश सरकारसँग नयाँ सम्झौता गरेर अगाडि बढ्न सकिने डाक्टर दंगालको भनाई छ । अन्यथा कार्तिक १५ गते देखि समुदायमा कार्यरत ४९ जना र अस्पतालमा कार्यरत ५० जना गरी न्याय हेल्थ नेपाल अन्तर्गतका ९९ सय जना स्वास्थ्य कर्मचारी बिदा हुने न्याय हेल्थ नेपालले जनाएको छ ।
अस्पतालको सञ्चालन जिम्मेवारीबाट न्याय हेल्थ नेपाल बाहिरीने बेला अस्पतालमा रहेको पाँच करोड बराबरको औषधि उपकरण लगायतको सामग्री हस्तान्तरण गर्ने पनि न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशक डाक्टर विनोद दंगालले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्