तपाईँ सुन्दै हुनुहुन्छः

कान्छिमायाको नयाँ जीवन

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसंग कान्छिमाया

दोलखा/दोलखा । बैतेश्वर गाँउपालिका वडा नम्बर ७ नाम्दु बेतानेकी २९ बर्षीया कान्छिमाया तामाङले प्रस्तावित चरिकोट अस्पताल (प्राथामिक स्वास्थ्य केन्द्र चरिकोट) मा नयाँ जीवनको अनुभूति गरिरहेकी छन् ।

असोज १० गते घरमै साग टिप्ने क्रममा लडेर बेहोस भएकी कान्छिमायाको होस झण्डै ३६ घण्टा पछि न्याय हेल्थ नेपालले सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालको बेडमा पुगेर खुलेको थियो । गर्भवती कान्छिमाया लडेर पेटमा चोट लागेपछि एन्टिपाटम हेमरेज (एपिएच) अर्थात इन्टा युटेराईन फिटल डेथ (पेटमै बच्चा खेर गएको) का कारण अत्याधिक रक्तश्राव भै बेहोसी अवस्थामा असोज ११ गते विहान अस्पताल आएको र तत्काल अस्पतालको कर्मचारी र विरामीको श्रीमानले रगत दिई उपचार सुरु गरेपछि बेलुका होसमा आएको एमडिजिपि डाक्टर तुलाकृष्ण गुप्ताले बताउनु भयो ।

लडेर पेटमा चोट लागेको कारण कान्छिमायाको २४ हप्ताको बच्चा पेटमै खेर गएको थियो । सामान्यतया मानिसको शरीरमा कम्तिमा १२ ग्राम डिसिलिटर हेमोग्लोविन हुनुपर्नेमा विरामी अस्पताल आउदा हेमोग्लोविन ३ ग्राम डिसिलिटरमात्र थियो जसको कारण चरिकोटमै राखेर उपचार गर्नु पनि जोखिम र काठमाडौँ पठाउनु पनि जोखिम भएकोले विरामीको श्रीमानको सहमतिमै चरिकोटमै राखेर तत्काल उपचार सुरु गरेकोले बचाउन सकिएको डाक्टर तुलाकृष्ण गुप्ताले बताउनु भयो । काठमाडौँ लगेर उपचार गर्न उनीहरुको आर्थिक अवस्था कमजोर रहेको तथा तत्काल उपचार नहुदा बाँच्ने सम्भावना समेत कम हुने भएकोले पनि जोखिम मोलेरै कान्छिमायाको उपचार गर्नु परेको डाक्टर गुप्ताको भनाई छ ।

हेमोग्लोविनको मात्रा बढाउन विरामीलाई अस्पतालको कर्मचारी रोशन थापा र विरामीको श्रीमान कुशल तामाङले तत्काल रगत दिनु भएको थियो । पेटमै बच्चा खेर गएकोले अत्यधिक रक्तश्राव भै विरामीको झण्डै ८० प्रतिशत रगत बगिसकेकोले उपचार निक्कै जोखिमपूर्ण भएपनि अस्पतालका डाक्टर सन्तोष पाठक, डाक्टर उदय दिवाकर, डाक्टर करुणा खाती, नर्स सिर्जना शाह, कविता चौलागाई, रुपा थापा लगायतका स्वास्थ्यकर्मीहरुको टिमले सुझबुझका साथ तत्काल उपचार सुरु गरेकोले बचाउन सकिएको डाक्टर गुप्ताले बताउनु भयो ।

हेमोग्लोविनको मात्रा अत्यन्तै कम भएकोले विरामीको पेटमै खेर गएको २४ हप्ताको बच्चा अप्रेशन गरेर झिक्नु झन जोखिम हुने भएकोले औषधिको प्रयोग गरिएको र औषधीलेनै बच्चा निस्किएकोले विरामीलाई केहि सहज भएको उपचारमा संलग्न डाक्टर सन्तोष पाठकले बताउनु भयो ।

प्रस्तावित चरिकोट अस्पताल

लडेर बेहोस भएपछि कान्छिमायालाई सुरुमा नाम्दुमा रहेको स्वास्थ्य केन्द्रमा लगिएको र त्यहाँ उपचार सम्भव नहुने भएपछि चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा ल्याएको श्रीमान कुशल तमाङले बताउनु भयो । आर्थिक अभावका कारण विरामीलाई काठमाडौँ लाने अवस्था थिएन, प्रस्तावित चरिकोट अस्पतालको स्वास्थ्यकर्मीहरुको मेहेनेतले उनले नयाँ जीवन पाउन सकिन – श्रीमान कुशल तामाङले भन्नु भयो । निशुल्क रुपमा यति राम्रो उपचार सेवा पाउनु विपन्न जनताको लागि सौभाग्यको कुरा भएको तमाङ बताउनु हुन्छ ।

अस्पतालमा उपचाररत कान्छिमायालाई दुई पटक गरी ५ पोका रगत दिईएको र अहिले उनको शरीरमा हेमोग्लोविनको मात्रा ५ दशमलव ३ ग्राम डिसिलिटर भएको अस्पतालका एमडिजिपि डाक्टर तुलाकृष्ण गुप्ताले बताउनु भयो । कान्छिमायालाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गर्नु पर्ने डाक्टर गुप्ताको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button