तपाईँ सुन्दै हुनुहुन्छः

बाढीबाट क्षतिः एक जनाको मृत्यु, ६ घाइते

रुपन्देही । शुक्रबार राति आएको बाढीले रुपन्देहीमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानमा १७ घर बगाएको छ भने २४ घरमा क्षति पुर्याएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शुक्रबार राति घरबाट हिंडेकी बुटवल–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको शनिवार बुटवल १५, चंकीपुरमा दानव नदीमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा दर्जनौं परिवार विस्थापित हुनुका साथै एक सय बढी घर डुबानमा परेका छन् ।

दानव नदीमा आएको बाढीले सम्मरीमाई गाउंपालिका देबन्डीका पर्बावती मल्लाहको घर भत्किंदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताउनुभयो ।

यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका १३ वडउलियस्थित बलिराम हरिजनको घर भत्किंदा उहाँकी पत्नी घाइते हुनुभएको छ ।

तिनाउ नदीमा आएको बाढीले बुटवलका ६ वटा घर बगाएको छ । बुटवल १७ रानीगन्जका ३ र चुरेबाट आएको भेलले बुटवल ४ गैरीगाउंका ३ घर बगाएको छ । ती ठाउंका १६ घरपरिवार विस्थापित भएको वडाध्यक्ष टंक पराजुलीले जानकारी दिनुभयो ।

तिलोत्तमाका सुखौरा खोलाको बाढीले ४ वटा घर बगाएको छ । उता रोहिणी नदीमा आएको बाढीले देवदह १० मा एक घर बगाएको छ ।

तिनाउ, दानव, रोहिणी नदी र सुखौरा खोलाले बुटवल, तिलोत्तमा, देवदह, ओमसतिया, सम्मरीमाई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका दर्जनौं घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button