व्यवसाय सञ्चालन गर्न दिनुपर्ने भन्दै सिडियोलाई ज्ञापन पत्र

सुनसरी । सुनसरी जिल्लाको सीमा धनकुटा भेडेटारका होटेल व्यवसायीद्वारा होटेल सञ्चालन गर्न माग गरेका छन् ।
पूर्वको पर्यटकीय केन्द्र धनकुटाको भेडेटारका होटेल व्यवसायी तथा पर्यटन व्यवसायीले व्यवसाय सञ्चालन गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापन पत्र बुझाएका छन् ।
कोरोना भाइरसका कारण विगत ६ महिना देखीको निरन्तर बन्दका कारण व्यवसाय पूर्ण रूपमा धराशायी भएको भन्दै धनकुटाको पर्यटकीय स्थल भेडेटारका होटेल व्यवसायीहरूले भेडेटार होटेल एसोसिएसनको नेतृत्वमा व्यवसाय सञ्चालन गर्न माग गर्दै धनकुटा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धनकुटा र सरोकारवाला सबैलाई ज्ञापन पत्र बुझाएका हुन ।
धनकुटा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठ र धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राई लाई होटेल व्यवसाय तथा यातायात पूर्ण रूपमा सञ्चालन गर्ने वातावरण बनाई दिन माग गर्दै भेडेटार होटेल एसोसिएसनका अध्यक्ष जितेन्द्र राई, महासचिव आशिष राई, सचिव तुमराज लिम्बु, सदस्य डम्वर लाम्बिछानेले ज्ञापन पत्र बुझाएका छन् ।
धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राईले लक डाउन मात्र समस्याको समाधान नभएकोले सबै सुरक्षा विधि अपनाएर सम्पूर्ण व्यवसाय सञ्चालन गर्न राज्यले अनुमति दिनु पर्ने अन्यथा सम्पूर्ण व्यवसायीहरूको धैर्यताको माध टुटिसकेकोले अव व्यवसायीहरू आफै सुरक्षा विधि अपनाएर व्यवसाय सञ्चालन गर्ने बताए ।
भेडेटार होटेल एसोसिएसनले पर्यटकीय स्थल भेडेटार, नाम्जे, नमस्ते झरना लगायतका क्षेत्रहरूमा पूर्ण रूपमा यातायात सञ्चालन गर्न दिनु पर्ने र होटेल पनि सञ्चालन गर्न दिनु पर्ने ज्ञापन पत्रमा माग गरेका छन् ।









प्रतिक्रिया राख्नुहोस्