कोरोनालाई जितेका लेखा अधिकृतले गरे आइसोलेसन व्यवस्थापनका लागि आर्थिक सहयोग

मुगु । कोरोनालाई जितेका लेखा अधिकृतले आइसोलेसन व्यवस्थापनका लागि आर्थिक सहयोग गरेका छन् ।
गत ८ गते कोरोना पोजेटिभ देखिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत लेखा अधिकृत सुरेश कुमार केसीले आइसोलेसन व्यवस्थापनका लागि ५० हजार सहयोग गर्नु भएको हो ।
लेखा अधिकृतले आफ्नो दोस्रो परीक्षणमा नेगेटिभ रिपोट आएमा आइसोलेसन व्यवस्थापनका लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसार १३ गतेको दोस्रो रिपोर्टमा नेगेटिभ रिपोट आएको थियो ।
कोरोना सङ्क्रमण देखिएको पाँच दिन मै कोरोनालाई जितेका केसीले बुधवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलालाई आफूले घोषणा गरे बमोजिमको रकम जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थितिमा हस्तान्तरण गर्नु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै लेखा अधिकृत केसीले आफू पाँच दिन आइसोलेसनमा बस्दा आफ्नै कार्यालयका चिकित्सकदेखि अन्य कर्मचारीहरूले अवहेलना गर्ने जस्ता व्यवहार गरेको र आइसोलेसनमा रहेका सङ्क्रमितहरू रोगले भन्दा बाहिरका व्यक्ति तथा आफन्तहरूले गर्ने व्यवहारबाट पीडित भई मनोबल बढाउन नसकी मृत्युको मुखमा जाने गरेको अनुभव सुनाउनुभयो ।
आइसोलेसनमा रहँदा स्वास्थ्यका तल्लो तहका कर्मचारीहरू उपचार तथा अन्य कार्यमा खटिने भए पनि जोखिम भत्ता चिकित्सकले मात्र पाउने गरेकोले यो कार्यका खटिने सबैलाई जोखिम भत्ता दिनु पर्ने पनि लेखा अधिकृत केसीले बताउनुभयो ।
कोरोना सङ्क्रमण रहेकै बेला लेखापालले सामाजिक सञ्जालमा आफै आप्mनो नाम सार्वजनिक गर्दै आइसोलेसन व्यवस्थापनका लागि ५० हजार दिने घोषणा गर्नुले कोरोना केही होइन, आत्मबल भएमा कोरोनालाई सजिलै जित्न सकिन्छ त्यसैले सङ्क्रमितलाई स्वास्थ्यकर्मी, घरपरिवार र आफन्तहरूले मनोबल बढाउने खालका कुराकानी, क्रियाकलाप गर्नु पर्ने भन्ने सन्देश दिएको प्रजिअ कृष्णकुमार निरौलाले बताउनुभयो ।
केसीले गरेको सहयोग र सङ्क्रमित हुँदा देखाएको आत्मबलको उपस्थित प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साह र पत्रकार महासङ्घका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले प्रशंसा गर्नुका साथै भावी दिनमा हुनसक्ने सङ्क्रमित र अन्यलाई प्रेरणाको स्रोत भएको बताउनु भएको थियो ।
मुगु जिल्लामा उनीसहित चार जनालाई कोरोना सङ्क्रमण देखिएकोमा सबैले कोरोनालाई जितेर घर फर्किसक्नु भएको छ ।
जिल्लाबाट पछिल्लो समयमा गरिँदै आएका सबै स्वाब परीक्षणमा नेगेटिभ रिपोट मात्र आउन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुगु जिल्लालाई कोरोना सङ्क्रमित शून्य जिल्ला भनेर आफ्नो रेकर्डमा राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्