सल्यान कारागारमा रहेका कैदी बन्दी कोरोनाको जोखिममा

सल्यान । सल्यान कारागार सल्यानमा रहेका कैदीबन्दीहरुमा कोरोनाको जोखिममा रहेका छन् । दैनिक जसो प्रहरीले ल्याउने नयाँ व्यक्तिबाट सङ्क्रमण फैलिन सक्ने डर रहेको कारागार सल्यानले जनाएको छ ।
परीक्षण विना नै नयाँ व्यक्ति कारागार चलान गर्ने र नयाँ पुराना कैदी बन्दी एकै ठाउँमा राख्दा जोखिम बढेको कारागार सल्यानका जेलेर बल बहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनको मौका पारी प्रहरीले अहिले फरार सूचीमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्दै कारागार पठाइ रहेको छ । तिनीहरूको पिसिआर परीक्षण विना नै पुरानो कैदी बन्दीसँग राख्दा कोरोनाको जोखिम रहेको छ ।’
कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी र कारागारमा ल्याउने नयाँ ल्याउने सुरक्षाकर्मीबाट पनि जोखिम बढेको कारागारले जनाएको छ । एक महिनाको बिचमा मात्र प्रहरीले फरार सूचीमा रहेका ४२ जनालाई पक्राउ गरी कारागार पठाएको छ ।
२० जना कैदी बन्दी अट्ने कारागारमा अहिले एक सय ४४ भन्दा बढी कैदी बन्दी रहेका छन् ।
क्षमताभन्दा बढी कैदी बन्दी राखिएको कारागारमा नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्ने स्थान समेत नभएको वलीको भनाई छ ।
उहाँले भन्नुभयो, ‘कारागारमा पहिले नै क्षमताभन्दा बढी कैदी बन्दी रहेका छन् । अव नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्न समस्या छ । सुरक्षाकर्मीले पक्राउ गरेर ल्याएपछि क्वारेनटाइनमा राख्न मिलेन साथै राखौँ कोरोनाको जोखिम उत्तिकै छ ।’
सल्यानमा हालसम्म समुदायमा कोरोना भाइरस फैलिएको छैन । जिल्लामा हालसम्म तीन सय सङ्क्रमित हुँदा दुई सय ५७ जना निको भएर घर फर्की सकेका छन् । ४३ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्