तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक सञ्चालनमा

मुगु । वर्षाका कारण विगत एक महिनादेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग अन्तर्गत पर्ने नाग्म–गमगढी सडक बुधवारबाट सञ्चालनमा आएको छ ।

लगातारको वर्षाको कारण नाग्मदेखि गमगढीसम्मका विभिन्न स्थानका सडक खण्डहरूमा पहिरो जानुका साथै कच्ची सडक हिलाम्य भएपछि विगत एक महिनादेखि सडक अवरुद्ध भएको थियो ।

वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाले मुगुको ताल्च र जुम्लाको सिञ्जादेखि दुवैतिरबाट एक्स्काभेटर प्रयोग गरी अवरोध हटाएपछि बुधवारदेखि नाग्म–गमगढी सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताउनुभयो ।

मुगुको सातमोड र ताल्चा जुम्लाको जियभिरदेखि सिञ्जा तिरको बाटोको अधिकांश भागमा ग्राभेल भइसकेकोले अबका दिनमा सामान्यतया गाडी, ट्रक आउनलाई कुनै किसिमको समस्या नहुने डिभिजन प्रमुख भण्डारीले बताउनुभयो ।

उहाँले जुम्लाको घोडाङ्ग्या भन्ने स्थानमा सडकमा खाल्डोको समस्या भए पनि त्यसलाई एक दुई दिनमै मर्मत गर्ने बताउनुभयो ।

जुम्लाको सिञ्जातिरको सडक खण्डमा हरेक वर्ष बर्षादको समयमा हिलो जमेर गाडी आउन मुस्किल हुने गरेको भए पनि उक्त स्थानका हाल केही भाग ग्राभेल समेत भइसकेको र केही भू–भागमा आवश्यक मर्मत गरिसकिएकाले उक्त स्थानमा गाडी आउन जान कुनै समस्या नहुने पनि उहाँले बताउनुभयो ।

मुगुमा लामो समयसम्म सडक अवरुद्ध भई सवारी साधना सञ्चालन नभएपछि दैनिक उपभोग्य बस्तु चामल, तेल पिठो चिनी, साबुनलगायत निर्माण सामाग्रीको अभाव भएको थियो ।

सडक खुलेपछि एक दुई दिनमै मालसामानको अभाव हटेर जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button