कैलाश खाेलामा आएको बाढी कारण भएको क्षतिबारे यकिन तथ्याङ्क सङ्कलन गरिने

अछाम – अछामको रामाराेशन क्षेत्रमा कैलाश खाेलामा आएको बाढी कारण सडक तथा बालीनालीको क्षतिको यकिन विवरण सङ्कलन गरिने भएको छ ।
गत भदौ २ गते राति कैलाश खाेलामा आएको बाढीले करिब २२ घरका १७ जना बेपत्ता भएको र बाढीले रामाराेशन क्षेत्रको सडक र सयौँ रोपनी खेलिबाली समेत बगाएको छ ।
जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्लाका कार्यालय प्रमुखको बैठकमा रामाराेशन बाढीको समीक्षा गरिनुका साथै सडक र खेतीबालीकाे यकिन विवरण यथाशीघ्र सङ्कलन गर्ने निर्णय गरिरएकाे तथा सोही अनुसार काम पनि अगाडि बढेको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
रामाराेशन सम्म जोड्ने सडक तथा गाउँपालिका भित्रका सडकमा क्षति पुगेको छ भने कैलाशखाेला क्षेत्रका रामाराेशन, बान्नीगढी जयगड र मंगलसैन क्षेत्रमा पर्ने सयौँ रोपनी धान खेत बगाएर बगरमा परिणत गरेको छ ।
“रामारोशन गाउँपालिकामा गएको पहिरोबाट भएको क्षतिको अन्य विवरण सङ्कलन भइरहेकोमा बालीनालीको कृषि ज्ञान केन्द्रले र सडकको क्षतिबारे सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, साँफेबगरले यकिन विवरण सङ्कलन गरी यथाशीघ्र पेस गर्ने निर्णय गरिएको छ” प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
अछामस्थित सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालय प्रमुखहरूको बैठक बसी जिल्लाको समग्र सेवा प्रवाह, विकास निर्माण, सुशासन, कोरोना जोखिम न्यूनीकरणका लागि भएका प्रयासहरूको समीक्षा गरिएको थियो ।
जिल्लामा भइरहेका काम कारबाहीलाई थप प्रभावकारी बनाउन सम्पूर्ण कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारीबाट विभिन्न सुझाव समेत दिइएको छ ।

जसअनुसार सबै कार्यालयहरूले नेपालको संशोधित नक्सा कार्यालयमा अनिवार्य रूपमा राख्ने व्यवस्था मिलाउने, सबै कार्यालयले जिल्ला प्रशासन कार्यालयमा आफ्ना गतिविधिको नियमित जानकारी गराउनुपर्ने, सेवा प्रवाह र कार्यालयको लेआउट सेवाग्राहीमैत्री बनाउनुपर्ने, इमेल इन्टरनेटको प्रयोग बढाई भिडभाड कम गर्दै सेवा प्रवाहलाई सहजीकरण गर्ने, मातहतका कर्मचारीलाई पोसाक, परिचयपत्र अनिवार्य लगाउने व्यवस्था मिलाउने निर्णय भएको छ ।
बैठकले सबै कार्यालयले सूचना अधिकारीको व्यवस्था गरी फोटो सहितको विवरण राख्ने निर्णय समेत गरेको छ । कार्यालयबाट दिइने सूचना तथा जानकारीलाई सहज रूपमा एक द्वार प्रणालीबाट प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने निर्णय गरिएको हो ।
यस्तै नागरिक बडापत्रको व्यवस्था गरी आवश्यकता अनुसार अद्यावधिक गर्ने, उजुरी पेटिकाको व्यवस्था गरी नियमित रूपमा खोल्ने व्यवस्था मिलाउने, प्रत्येक कार्यालयले सामाजिक सञ्जालमा उपस्थिति जनाई आवश्यकता अनुसार सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने,
र आगामी महिनादेखि जिल्लामा एक जना उत्कृष्ट कर्मचारी छनोट गरी सम्मानित गर्ने र सोको लागि सहायक प्रमुख जिल्ला अधिकारीले आवश्यक कार्यविधि बनाई सबै कार्यालयसँग समन्वय गर्ने निर्णय गरिएको छ ।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालय, कर्मचारी संघ , अछामले नयाँ प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययलाई स्वागत गरेको छ । साथै उहालाई नापी कार्यालयले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको नयाँ नक्सा समेत उपहार दिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामले नयाँ नक्सा सबै कार्यालयहरूमा अनिवार्य रूपमा राख्ने गरी पठाएको छ । आगामी दिनमा यो नयाँ नक्सा प्रत्येक कार्यालयमा राखे नराखेको अनुगमन गरिने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्