तपाईँ सुन्दै हुनुहुन्छः

६ महिनादेखि लेखा अधिकृत नहुँदा समस्या

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकामा विगत लामो समयदेखि लेखा अधिकृत नहुँदा नगरपालिकाका दैनिक काममा समस्या भएको छ । नगरपालिकाकी लेखा अधिकृत सुनिता शर्मा २०७६ चैत १ देखि तीन महिनाको बिदामा घर गएको र अहिलेसम्म नआएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।

प्रसूति बिदा भनेर घर गए पनि बिदा सकिदा पनि कार्यालयमा नआएको शेर्पाले जानकारी दिनुभयो ।

वाग्लुङ घर भएकी लेखा अधिकृतलाई उहाँको नम्बरमा फोन गर्दा समेत सम्पर्कमा नआएको शेर्पाको भनाइ छ । लेखा अधिकृत नहुँदा धेरै समस्या भएको शेर्पाले गुनासो गर्नुभयो । असारमा सबै योजनाहरूको भुक्तानी गर्नुपर्ने भए पनि लेखा अधिकृत नहुँदा निकै समस्या भएको शेर्पाको भनाइ छ ।

लेखा अधिकृत नआएपछि त्रिपुरा सुन्दरी गाउँपालिकाका लेखा अधिकृत रामप्रसाद आचार्य आएर आलोपालोमा काम फुकाउने गरेको प्रमुख शेर्पाले जानकारी दिनुभयो । सरकारी कर्मचारीहरूले तीन महिना प्रसूति बिदा पाउँछन्,तीन महिनाको बिदा सकिए पनि बाह्रबिसेकी लेखा अधिकृत पनि सम्पर्कमा नै नआएको शेर्पाको भनाई थियो । कोरोनाको महामारीको बीचमा पनि लेखा अधिकृत नहुँदा गाह्रो भएको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button