तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको कमलादीबाट फरार सुन तस्कर अन्सारी पक्राउ


बारा । काठमाडौँको कमलादीबाट फरार सुन तस्कर ईल्ताफ हुसेन अन्सारी बाराको निजगढबाट पक्राउ परेका छन् । नक्कली सुन बरामद प्रकरणमा बारा प्रहरीले अन्सारीलाई निजगढबाट पक्राउ गरेको हो ।

अन्सारी बाराको प्रष्टोका वडा नं.२ निवासी हुन् । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए । सुनचाँदी र दुई थान पेस्तोल बरामद गरेको थाहा पाएपछि उनी स्कोर्पियो गाडी छाडेर अन्सारी भागेका थिए ।

सुन प्रकरणमा प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुर सिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

घटनामा निर्दोष देखिएका जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको थियो । भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन् । यता बाराबाट पक्राउ परेका अन्सारीलाई लिन महानगरीय अपराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । महाशाखाकै सूचनाका आधारमा बारा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षकको नेतृत्वमा आज बिहान महाशाखाले अन्सारीलाई लिन टोली पठाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button