मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या १०४ पुग्यो

उदयपुर । मालपोत कार्यालय उदयपुरमा मंगलबार ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगैँ १३ दिनअघि मालपोत कार्यालयका खरिदारमा कोरोना देखिएपछि गरिएको पिसीआर परीक्षणबाट उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
कोशी अञ्चल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कार्यालयका ४४, ३८, ३२, ३२, २७ र २२ बर्षीय कर्मचारीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए । कोरोना पोजेटिभ देखिएका कर्मचारीहरु कार्यालय सहयोगी, कम्युटर अपरेटरदेखि लिएर नायव सुब्बासम्मका छन् ।
१३ दिनअघि कोरोना देखिएका ती कर्मचारीको कन्ट्रयाकट्रेसिनका आधारमा पिसिआर परीक्षण गर्दा त्रियुगा नगरपालिका ९ का उनका ६२ बर्षिया आमा र ३० बर्षिया श्रीमतीमा पनि कोरोना देखिएको प्रमुख सुवेदीले जानकारी दिए ।
त्यस्तै विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका एकै परिवारका चारसहित सात जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सबै एकै वडाका हुन् भने एक जना लघुवित्तका कर्मचारी हुन् । प्रमुख सुवेदीका अनुसार वडानं ९ का ६८, ३०, २०, ६०, १८, १७ र ३१ बर्षीय छन् ।
दुई साता अघि बेलका न.पा. ९ बजारका दुई व्यापारीलाई कोरोना देखिएपछि उनीहरुको कन्ट्याकट्रेसिनका आधारमा गरिएको परीक्षणबाट एकै परिवारका श्रीमान, श्रीमती, छोरी गरी चार जनामा कोरोना देखिएको हो । त्यस्तै २८ बर्षीय युवा सहारा लघुवित्तका कर्मचारी हुन् ।
जिल्लामा पहिलोपटक एउटै कार्यालयका ठुलो संख्यामा कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिए लगत्तै कार्यालयले १५ दिनका लागि आफ्ना सबै सेवा बन्द गरेको सूचना जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शशीकुमार लम्सालले कोरोना समुदाय स्तरमा देखिएकाले कार्यालयको सेवा प्रवाह र भिडभाड नियन्त्रण सम्बन्धि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरिने बताए ।
उनले भिडभाडलाई नियन्त्रण गर्ने र परीक्षणको दायरा फराकिलो बनाइने बताए । उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ३० महिलासहित एक सय ४ जना पुगेको छ । त्यसमध्ये त्रियुगा नगरपालिकामा ५९ जना, बेलका नगरपालिकामा ३१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लामा हालसम्म एक हजार पाँच सय ५२ महिलासहित ६ हजार १५ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा एक हजार चार सय ५७ महिलासहित पाँच हजार ६ सय १ जनाको रिर्पोट आईसकेको र बाँकी चार सय १४ को आउनेक्रम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै आठ सय आठ जनाको आरडिटि टेष्ट गरिसकिएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार हाल १८ जना महिलासहित दुई सय जना क्वारेन्टाइनमा छन् भने १८ महिला सहित चार सय ७२ जना होम क्वारेन्टाईनमा छन् । जिल्लामा सकृय संक्रमितको संख्या हालसम्म १९ जना रहेको छ ।
१५ जना कोरोना संक्रमित बढेपछि त्रास बढ्यो
मालपोत कार्यालय उदयपुरमा एकै पटक ठुलो संख्यामा कोरोना पोजेटिभ देखिएपछि सदरमुकाम गाईघाट वजार आसपासका क्षेत्रमा त्रास फैलिएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा दुई पटक गरी सात जनामा कोरोना भेटिएपछि नियमित सेवा लिन पुगेका सर्वसाधारण त्रासमा रहेका हुन् । धेरैजसोले टेलिफोन र मेसेजमार्फत आफुपनि सेवा लिन गएकोले परीक्षण गराई दिन आग्रह गरको स्वास्थ्य कार्यालय प्रमुख सुबेदीले बताए ।
लकडाउन खुकुलो भएसँगै सामान्य बन्दै गएको जनजीवनमा कोरोना प्रतिको लापर्वाही बढ्दो रहेको अवस्थामा यो घटनाले उच्च सतर्कता अपनाउन आवश्यक देखिएको स्थानीयको भनाई छ । स्थानीयले मिश्रित खालको स्थानीय प्रशासनलाई सुझाब दिएका छन् ।
धेरैजसोले सदरमुकाम र बेलका नगरपालिका क्षेत्र पुर्ण लकडाउन गरी परीक्षणको दायरालाई फराकिलो बनाउनु पर्ने सुझाब दिएका छन् । कतिपयले सामाजिक दुरी कायम राख्दै, मास्क, सेनिटाईजर प्रयोग गरी कम भिडभाड हुने गरी वजार पसल खोल्नु पर्ने बताएका छन् । कर्मचारीले भने कार्यालयको सेवा पूर्ण ठप्प पार्नु पर्ने बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्