तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल राहत र पुनर्स्थापनामा जोड दिन पहिरो पीडितहरुकोे माग


सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका वडा नं २ स्थित सानो नाम्फाका पहिरो विस्थापितहरूले तत्काल राहत र पुनस्थापनाको पहल गरिदिन माग गरेका छन् ।

गत असार २६ गते राती गएको भीषण पहिरोबाट पूर्ण रूपमा विस्थापित २९ घर परिवारले आफूहरूलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन् । हिजो अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युष्टि पार्टी (नेकपा)का केन्द्रीय सदस्य माधव सापकोटा सुबोध सहितको पार्टी प्रतिनिधिसँग स्थानीयले आफ्नो समस्या पोखेका हुन् ।

पहिरो पछि सानो नाम्फाका २९ घर परिवार ठुलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन् । त्यहाँ पनि सञ्चगाउँको ठुलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापितहरू चिन्तित छन् । २०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरूले घर बनाएका थिए । घरमा बसेको वर्ष बित्न नपाउँदै बस्तीको दुबैतर्फ पहिरो गएपछि र घरहरूको बिच बिचमा समेत चिरा परेपछि उनीहरू थातथलो छोड्न बाध्य भएका हुन् ।

हिजो भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरूले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे ।

छलफलमा नेता सापकोटाले आफूहरू हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सञ्चगाउँको ठुलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरूसँग पनि छलफलका लागि सहजीकरण गरिने बताउनुभयो । उहाँले पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

स्थानीय विस्थापितहरुसंग भएको छलफलमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध सहित सहित नेकपा जुगल गाउँपालिकाका अध्यक्ष पदम श्रेष्ठ, सह इन्चार्ज रेशम स्याङ्बो, सचिव लक्ष्मण दोङ्, नेता जेपी सिलवाल लगायत सहभागी हुनुभएको थियो । छलफलका सहभागीले दुःखका बेला सम्झेकोमा नेतृत्वलाई धन्यवाद ज्ञापन गदै आफ्ना मागबारे गम्भीर भइदिन विशेष आग्रह गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button