चितवनमा एकै परिवारका दुईसहित चारजनामा कोरोना संक्रमण
चितवन । चितवनमा एकै परिवारका दुई जनासहित आज चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका–१ का दुई जना रहेका छन । उनीहरु श्रीमान श्रीमती रहेका छन । श्रीमान ४६ बर्षका हुन भने श्रीमती ३८ बर्षीय हुन । उनीहरु क्वारेन्टिन बाहिरका हुन ।
उनीहरु बुधबार कोरोना संक्रमित भएका ७९ बृद्धका छोरा बुहारी रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । अन्य दुईजना चितवनका अस्पतालमा उपचारार्थ बिरामी रहेका छन ।
तिवारीका अनुसार पर्साको वीरगञ्जका एक जना र सर्लाहीका लालबन्दी–११ का अर्का एकजनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये वीरगञ्ज–१० घर भएकी ४२ वर्षीय कोरोना संक्रमित महिलाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै सर्लाहीका ७९ वर्षीय पुरुषको भने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको अस्पतालबाट बाटै स्वाब संकलन गरिएको थियो ।
आज कुल १३१ नमुनाको परीक्षण नतिजामध्ये १२७ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । कोराना जोखिम बढेसंँगै चितवनमा परीक्षणको दायरा फराकिलो बनाईएको र कन्टयाक्ट ट्रेसिङको कामलाई तीब्र बनाइएको स्वास्थ्य कार्यालय, चितवनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्