बागलुङका एक स्वास्थ्यकर्मीसहित छ जनामा सङ्क्रमण पुष्टि

बागलुङ । कोरोना सङ्क्रमित बिरामीको उपचारमा संलग्न बागलुङका एक स्वास्थ्यकर्मीसहित बागलुङमा छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको जैमिनी नगरपालिका ५२ बर्षिया पुरुष स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । उहाँ कोरोनाका बिरामीको व्यवस्थापनमा बढी सक्रिय हुनुहुन्थ्यो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बिहीबार उहाँसहित छ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
यस्तै बागलुङ नगरपालिकाका एक, काठे खोला गाउँपालिकाका दुई र बडिगाड गाउँपालिकाका दुई जना पुरुषलाई सङ्क्रमण पुष्टि भएको हो ।
बागलुङ नगरपालिका–१ बाङ्गे चौरको रामरेखा आधारभूत विद्यालयको क्वारेनटाइनमा बसेका ३० वर्षीय पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेनटाइनमा बसेका काठे खोला गाउँपालिकाका २५ र २४ वर्षीय पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेनटाइनमा बसेका बढिगाड गाउँपालिकाका २६ र ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरू सबैलाई आइसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मी बाहेकका अन्य सङ्क्रमित भारत र बहराइनबाट बागलुङ आई पालिकाले निर्माण गरेको क्वारेनटाइनमा बसिरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्