तपाईँ सुन्दै हुनुहुन्छः

संखुवासभाको पहिरोमा ११ जना बेपत्ता (नामावली सहित )

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्वर १ स्थित बेसिन्दा भन्ने स्थानमा अविरल बर्षासँगै गएको पहिरोले ९ घर बगाएको छ भने ११ जना वेपत्ता भएका छन् ।

घटनास्थलबाट ३ जनाको जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार कार्यमा खटिएको अवस्थामा बर्ष २५ को मदन राईको अचानक बेहोस भई मृत्यु समेत भएको संखुवासभा प्रहरीले जनाएको छ ।

पहिरोमै परी बर्ष ६० को राममान राईको घरपुरै बगाएको छ भने राममान राई, उनकी श्रीमती बर्ष ५५ की हस्त कुमारी राई, छोरीहरू बर्ष २१ की एन्जीला राई (गर्भवती), बर्ष ११ की नम्रता राई पहिरोमा परी वेपत्ता  छन् ।

पहिरोमा परी बर्ष ५२ को जुद्ध बहादुर राई (माने) को घर पुरै बगाएको छ भने जुद्ध बहादुर राई (माने) र निजको श्रीमती बर्ष ४५ की उत्तर कुमारी राई पनि हालसम्म बेपत्ता  छन् ।

पहिरोमा  बर्ष ७० की नजमाया राई को घर पुरै बगाएको छ भने उनीपनि हालसम्म बेपत्ता छन् । पहिरो बर्ष ८४ को हर्कराज राईको घर पुरै बगाएको छ भने हर्कराज राई उनकी श्रीमती बर्ष ८२ की आईतमाया राई समेत हालसम्म बेपत्ता छन् ।

पहिरोमा परी जुद्ध बहादुर राई (गैरी) को घर पुरै बगाएको, जुद्ध बहादुर राई (गैरी) गोठमा गएको कारण जिवितै रहेको, निजको श्रीमती बर्ष ६५ की गोरी माया राई र छोरी बर्ष २२ की प्रकृती राई हालसम्म बेपत्ता रहेको बताइएको छ । पहिरोमा परी सन्दीप राई सभधन राइको घर पुरै बगाए पनि घरपरिवार हाल सम्पर्कमा रहेको बताइएको छ ।

यसैगरी प्रहिरोले बर्ष ५५ को भिम बहादुर राईको घर पुरै बगाएको छ भने उनलाई उद्धार गरीएको  छ ।

प्रहरीका अनुसार पहिरोमा परी बर्ष ७९ को गोवा सिंह राईको घर पुरै बगाएको छ भने गोवासिंह राईको बायाँ हात र बायाँ टाउकोमा ढुंगाले गहिरो काटेको कारण  अवस्था गम्भिर छ । राईकी श्रीमती फूलमाया राई, छोरी भिमसरी राईको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

पानी परिरहेकोको र ठाउँठाउँमा पहिरो गई बाटो अवरुद्ध भएको कारण थप उद्धार टोली घटनास्थलमा पुग्न कठिन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवाटारबाट प्रहरी टोली परिचालन भई सकेका छन् भने जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक सहितको थप उद्धार टोली परिचालन गरिएको  प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button